भैंसी, राँगाको गफ गरेर ५ वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी माएका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् । उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए ।

उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताए । सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताएका हुन् ।

सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे । उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे । उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे । उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे ।

सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे । त्यसैगरी उनले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडी नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उनले बताए ।

लामिछानेको भनाइ जस्ताको त्यस्तै

हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ता जस्ता विषयहरुमा हामीले छलफल गर्यौँ हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ति हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषयहरु हुन् । हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदी पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मआलोचना गर्न चाहन्छौँ । हाम्रा दलबाट पनि भएका कमी, कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौँ । र नयाँ राजनीतिक दलका रुपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका छौँ । हामीले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसदबाट राम्रो सन्देश गएको छैन । म आफ्नो भागमा परेको ब्लेम, आफ्नो भागमा परेको जुन दुःख छ, आफू जिम्मेवार हुन चाहन्छु र आफ्नो राजनीतिक दलको तर्फबाट गत केही दिनमा भएका बहहिरु अलिकति अमर्यादित भएकोमा क्षमा याचना गर्न चाहन्छु ।


क्लिकमान्डु