विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नु पर्ने



काठमाडौं । सरकारले विदेश घुम्न जाने नेपालीबाट वैदेशिक पर्यटन शुल्क लिने भएको छ । नेपालबाट टुर प्याकेज खरिद गर्दै विदेश घुम्न जाने पर्यटकले त्यसरी तिर्ने रकममा थप ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क तिर्नु पर्नेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक ऐनको दफा २२ मा वैदेशिक पर्यटन शुल्क सम्बन्धी व्यवस्था छ ।

वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत, फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजादा लाग्ने खर्च लेखाइनका बखत वैदेशिक पर्यटन शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

वैदेशिक पर्यटन शुल्क सङ्कलन गरेको अर्को महिनाको २५ गते गतेभित्र राजस्व खातामा रकम जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ ।

कुनै व्यक्तिले वैदेशिक पर्यटन शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ।

वैदेशिक पर्यटन कर सम्बन्धी विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ ।

वैदेशिक पर्यटन शुल्क बापतको रकम असुल नगरेमा सो रकमको पच्चीस प्रतिशत शुल्क लाग्नेछ । वैदेशिक पर्यटन शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ ।


क्लिकमान्डु