लयमा फर्किंदै पर्यटन



काठमाडौं । प्रचुर पर्यटकीय सम्भावना भएर नेपालको पर्यटन क्षेत्र यसै पनि कछुवा गतिमा थियो । सन् २०१९ को अन्तिम दिन चीनबाट सुरु भएको कोभिड‑१९ महामारी विश्वभर फैलिँदा नेपालको पर्यटन क्षेत्र झनै धराशयी भयो ।

सन् २०१७ सम्म वर्षभरिमा १० लाख बाह्य पर्यटक पनि नेपाल भित्रिँदैन थिए । सन् २०१८ मा ११ लाख ७३ हजार नाघ्यो । वृद्धिदर २०१९ मा निकै सुस्तायो । त्यस वर्ष ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरे ।

त्यही वर्षको डिसेम्बर ३१ तारिकमा चीनबाट फैलिएर विश्वव्यापी बनेको कोभिड‑१९ महामारीका कारण पर्यटक आगमन ठप्प जस्तै भयो । तर, सन् २०२० को सुरुका तीन महिना पर्यटन आगमन खासै घटेन । जनवरीदेखि मार्चसम्ममा २ लाख २० हजार ६६८ पर्यटकले नेपाल भ्रमण गरे ।

अप्रिलदेखि लकडाउन सुरु भयो । पर्यटक आउन सक्ने सम्भावना नै रहेन । निरन्तर १२० दिन त  लकडाउन नै भयो । त्यसपछिका पनि केही महिना पर्यटक आगमन बन्द गर्नुपर्ने बाध्यताले पर्यटन क्षेत्र शून्यबराबरमा झर्‍यो ।

सन् २०२० को अप्रिलदेखि डिसेम्बरसम्ममा ९ हजार ४१७ पर्यटकले नेपाल भूमि टेक्ने अवसर पाए । जबकि, सन् २०१९ को सोही अवधिमा ८ लाख ८६ हजार १४४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२१ पनि कोभिडकै त्रासमा बित्यो । रुप फेरि‑फेरि आउने कोरोनाभाइरसका जीवाणुले पर्यटन क्षेत्रसँगै अर्थतन्त्र पनि चौपट बनायो । त्यस वर्ष जम्मा डेढ लाख विदेशी पर्यटक भित्रिए ।

कोरोनाबाट मुक्ति नमिले पनि सन् २०२२ देखि पर्यटन क्षेत्र केही चलायमान हुन थाल्यो । सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । सन् २०२२ को जनवरीदेखि मार्चसम्मका तीन महिनामा ७८ हजार ७४७ पर्यटक आएका थिए ।

अहिले त्यो संख्यामा उच्च वृद्धि भएको छ । सन् २०२३ को तीन महिनामा २ लाख २७ हजार ७५५ पर्यटक नेपाल भ्रमणमा आइसकेका छन् । यो संख्या सन् २०१७ को पहिलो तीन महिनाको भन्दा केही मात्र कम हो । कोरोनाभाइरस महामारीका कारण पर्यटनमा नेपाल अहिले पनि ६ वर्ष पछाडि नै छ ।

कोभिडपछि धेरै देशको पर्यटन क्षेत्र पहिलाको अवस्थामा आइसक्यो । दक्षिण एसियाकै पनि श्रीलंका, माल्दिभ्स, भुटानलगायतका देशले पर्यटक आगमनमा ठूलो फड्को मारिसके । तर, अनेकौं पर्यटकीय गन्तव्य भएर पनि नेपालको पर्यटन क्षेत्र निकै सुस्त छ ।

यसका धेरै कारण छन् । पहिलो त पर्यटनलाई प्राथमिकता दिन सरकारसँग कुनै ठोस योजना, नीति र रणनीति नै छैन । ‘हामी निजी क्षेत्र सबै हिसाबले तयार छौं, ठूलो लगानी गरेर बसेका छौं तर सरकारले कनेक्टिभिटीमा कुनै काम नै गरेन,’ होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निकै नै सानो भइसकेका बेला पोखरा र भैरहवामा दुई वटा विमानस्थल बन्दा पर्यटन व्यवसायी निकै उत्साहित बनेका थिए । ‘तर सरकारले कुनै प्रयास नगर्दा दुवै विमानस्थलबाट उडान हुन सकेको छैन,’ उनी भन्छन्, ‘ठूला दल र तिनका नेतालाई सरकार बनाउँदा र भत्काउँदै फुर्सद छैन, पर्यटन क्षेत्रलाई कसले प्राथमिकता दिने ? विमानस्थल सञ्चालनका लागि प्रयास कसले गर्ने ?’

नेपालमा भारत र चीनबाट मात्रै पनि ठूलो संख्यामा पर्यटक भित्रिन सक्ने सम्भावना रहेको उनले औंल्याए । ‘चीनबाट बर्सेनि ३० करोड र भारतबाट १० करोड मानिस वैदेशिक भ्रमणमा निस्कन्छन्,’ प्रथम उपाध्यक्ष शाहले भने, ‘त्यसको १ प्रतिशत मात्र पर्यटक नेपाल तान्न सक्ने हो भने ४० लाख हुन्छ तर सरकारले त्यतापटि ध्यान नै दिएको छैन ।’

देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको जिम्मा पाएको नेपाल पर्यटन बोर्ड पनि निदाइरहेको उनले बताए । ‘के गरिरा’छ पर्यटन बोर्ड ?’ उनले प्रश्न गरे, ‘प्रचारप्रसार खोई ?’ कोभिड‑१९ पछि चीनले चिनियाँ नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समेटेको छ तर पर्यटन बोर्डले यस्ता कुरालाई कुनै प्राथमिकता नदिएको उनको भनाइ छ ।

नीतिगत अस्थिरताका कारण पनि पर्यटन व्यवसाय फस्टाउन नसकेको शाहको बुझाइ छ । अघिल्लो सरकारले सन् २०२३‑३३ लाई पर्यटन दशक घोषणा गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि अहिलेको सरकारले त्यो कार्यक्रमको स्वामित्व लिएको छैन ।

‘२०३३ सम्ममा बर्सेनि ३५ लाख पर्यटकको लक्ष्य निकै सानो हो तर कम्तीमा यस्ता कार्यक्रमलाई हरेक सरकारले अपनत्व लिनुपर्छ र पो राम्रो सन्देश जान्छ,’ उनले भने, ‘कार्यक्रम त घोषणा भयो तर न बजेट छ न कर्मचारी छन् न त सचिवालय नै छ ।’

पर्यटकीय गन्तव्यको प्रवर्धन गर्दै अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार बढाउने हो भने पर्यटक आगमन धेरै नै बढ्नेमा उनी विश्वस्त छन् । ‘यसले देशको अर्थतन्त्र छिट्टो रिभाइभ हुन पनि मद्दत पुग्छ,’ उनले भने । सरकार पर्यटन कूटनीतिमा निकै कमजोर भएका कारण पनि पर्यटक आगमन सुस्त बनेको व्यवसायी बताउँछन् ।

तथापि, कोभिडपछि पर्यटन क्षेत्रमा विस्तारै सुधारको संकेत देखिन थालेको उनले बताए । अहिले नै ३० वटा पाँच तारे होटल सञ्चालनमा रहेको र अबको डेढ वर्षभित्र थप २० वटा सञ्चालनमा आउने उनले जानकारी दिए । ‘आगामी दिन सुखद छन्, हामी पनि तयार छौं, यत्ति हो सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ,’ शाहले भने ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा नेपालको पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको बताउँछिन् । ‘नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा सरकारले ध्यान दिन जरुरी छ,’ उनी भन्छिन्, ‘सरकारले कनेक्टिभिटीमा पनि जोड दिनुपर्छ, सम्भावना धेरै छ ।’

कोभिड १९ का कारण धराशयी बनेको पर्यटन क्षेत्र विस्तारै रिभाइभ भइरहको उनले बताइन् । ‘तर सरकारबाट यथोचित पहल हुने हो भने पर्यटक आगमन तीव्र गतिमा बढ्ने सम्भावना छ,’ पूर्वअध्यक्ष राणा भन्छिन्, ‘सरकारसँगै पर्यटन व्यवसायीले पनि यसमा विशेष भूमिका खेल्नुपर्छ, सबै सरोकारवाला आ‑आफ्नो ठाउँबाट लागिपर्नुपर्छ ।’

हालै बनेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनले बताइन् ।

‘भैरहवा विमानस्थलका कारण भारत, श्रीलंका, म्यानमार, थाइल्यान्ड, चीनलगायत देशबाट लुम्बिनीमा ठूलो संख्यामा पर्यटक आउन सक्छन्,’ उनले भनिन्, ‘त्यस्तै पोखरा विमानस्थल अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका लागि सहज हुनसक्छ । यसतर्फ ध्यान दिन जरुरी छ ।’

पर्यटक आगमन बढाउन सके देशको अर्थतन्त्र छिटो रिभाइभ हुन सहयोग पुग्ने अध्यक्ष राणाले बताइन् ।


डीआर आचार्य