इञ्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण




काठमाडौं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उनको भनाइ छ ।

काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।

जहाजमा चालक दलका सदस्यसहित ७८ जना यात्रु रहेका थिए । जहाज बिहान ९ बजेर ३८ मिनेट जाँदा काठमाडाै बिमानस्थलबाट उडेकाे थियाे भने १० बजेर १ मिनेटमा बिमानस्थलमा सुरक्षित अवतरण गरेकाे छ ।


क्लिकमान्डु