जेसीबी बेच्ने एमएडब्लू कम्पनीको व्यापार ६ प्रतिशतले घट्यो



काठमाडौं । जेसीबी ब्रान्डका हेवी इक्युपमेन्टको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू अर्थ मुभरको आम्दानी ६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ६ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ६९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२२ मा ५ अर्ब ३३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा ४ अर्ब ६२ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब २६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

एमएडब्लू इन्टरप्राइजेजको ६५ प्रतिशत हिस्सा रहेको कम्पनीमा विष्णु अग्रवालको ३५ प्रतिशत हिस्सा छ । एमएडब्लू ग्रुपको अध्यक्षसमेत रहेका अग्रवालसँग अटोमोबाइल क्षेत्रको राम्रो अनुभव छ ।

एमएडब्लू अर्थले देशभर दुई पाङ्ग्रे, व्यावसायिक सवारी साधन, निर्माण सामग्री तथा यात्रुवाहक सवारी साधन बिक्री गर्दै आएको छ । कम्पनीका देशभर १४ वटा शाखा छन् भने २२ वटा आधिकारिक आउटलेट छन् ।

कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले वाच विथ नेगेटिभ इम्लिकेसन पाएको छ । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती रित्तिँदै गएको र बजारमा तरलता अभाव भएको जनाउँदै सवारी साधनको आयातमा कडाइ गरेको थियो । त्यसको प्रत्यक्ष कम्पनीको व्यापारमा परेको छ ।

कम्पनीका अनुसार सरकारले आयातमा गरेको कडाइले व्यापार घटेको हो । त्यस्तै, चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा कम्पनीको व्यापार ५६ प्रतिशतले घटेको छ ।

नेपाली बजारमा जेसीबी ब्रान्डको हेवी इक्युपमेन्ट ब्याकहोइ लोडरको ठूलो हिस्सा छ । कम्पनीले आम्दानी गरेकोमध्ये ब्याकहोइ लोडरले मात्रै ५७ प्रतिशत हिस्सा ओगटेको छ ।


क्लिकमान्डु