प्रभु मनि ट्रान्सफरको आम्दानी २० प्रतिशतले घट्यो



काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालिको आम्दानी २० प्रतिशतले घटेको छ । कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा १९.५२ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२२ मा कम्पनीले ४४ करोड १० रुपैयाँ आम्दानी गरेको छ । साथै, कम्पनीले सन् २०२० मा ७० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीअनुसार बजारमा रेमिट्यान्स प्रवाह गर्ने कम्पनीहरुको बढ्दो प्रतिस्पर्धाका कारण आम्दानीमा कमी आएको हो । कम्पनीले सन् २०२२ मा ४४ करोड आम्दानी गर्दा ३६.४४ प्रतिशते नाफा कमाएको छ । सन् २०२१ मा ३६ प्रतिशत मात्रै नाफा कमाएको थियो ।

रेमिट्यान्स कम्पनीको रुपमा काम गर्दै आएको कम्पनी प्रभु ग्रुपद्वारा सञ्चालित छ । कम्पनीले विभिन्न देशमा र नेपालमा एजेन्टको रुपमा देशभर रेमिट्यान्सको सुविधा दिँदै आएको छ । कम्पनीको देशभर ६ हजार बैंकिङ एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ हजार सहकारी एजेन्ट छन् ।

प्रभु ट्रान्सफर मलेसिया, कतार, साउदी अरेबिया, युएई र युएसबाट रेमिट्यान्स पठाउनमा चर्चित रहेको कम्पनीको भनाइ छ । देवी प्रकाश भट्टचन अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५९ करोड ५० लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु