संशोधित लक्ष्यअनुसार पनि कर उठाउन आन्तरिक राजस्व विभाग असफल



काठमाडौं । संशोधित लक्ष्यअनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ ।

विभागले माघमा ३९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ५ करोड रुपैयाँमात्रै संकलन गर्न सकेको छ । जुन चालू आर्थिक वर्षमा लिइएको लक्ष्यको ७८.७५ मात्रै हो । विभागले गत वर्ष माघमा ३१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा मार्फत् गत वर्षभन्दा समग्रमा ११.७७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । माघमा गत वर्ष भन्दा ०.६१ प्रतिशत कम राजस्व संकलन भएको छ ।

विभागले माघ सम्ममा ३ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब ५२ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

जुन लक्ष्यको ७८.८१ प्रतिशत मात्रै हो । जबकी गत वर्ष माघ मसान्तसम्ममा विभागले २ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

माघ मसान्तसम्ममा संशोधित लक्ष्य अनुसार पनि विभागले २ खर्ब ८६ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्नु पर्दथ्यो । तर, विभागले माघ मसान्तसम्ममा गत वर्ष भन्दा पनि ४ अर्ब कम राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको बजटेमा गत वर्ष संकलन भएभन्दा ३० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो ।

माघ २९ गते बजेटको अर्धवार्षिक समीक्षा मार्फत गत वर्ष संकलन भएको राजस्व भन्दा ११.७७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । संशोधित लक्ष्य अनुसार विभागले चालू आर्थिक वर्षमा विभागले ५ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्नु पर्छ ।

आगामी ५ महिनामा विभागले २ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सके मात्रै संशोधित लक्ष्य अनुसार राजस्व संकलन हुन सक्छ । गत वर्ष फागुनदेखी असार मसान्तसम्म विभागले २ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष भन्दा २६ प्रतिशत बढी राजस्व संकलन गर्दा मात्रै विभागको संशोधित लक्ष्य पूरा हुन्छ ।

चालू आर्थिक वर्षको साउनदेखि विभागले लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेका छ । जसले गर्दा संशोधित लक्ष्यअनुसार पनि राजस्व संकलन हुने सम्भावना कम रहेको विभागका उच्च अधिकारी बताउँछन् ।

पुसमा १ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ७१ अर्ब ३१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो।
मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

त्यसैगरी असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । भदौमा पनि विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन ।

भदौमा ३१ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।


क्लिकमान्डु