खुराक ब्रान्डको दाना बेच्ने दाङ दाना उद्योगको व्यापार तीन महिनामा ५१ करोड रुपैयाँ



काठमाडौं । खुराक ब्रान्डमा दाना बेच्ने दाङ दाना उद्योगले तीन महिनामा ५१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब २५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२१ मा १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले पोल्ट्र तथा जीवजन्तुको दाना उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चार प्रकारको पेलेट दाना, पोल्ट्र दाना (ब्रोइलर, लेयर्स, प्यारेन्ट), क्याटल दाना, बंगुरको दाना र माछाको दाना उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले प्रि स्टार्टर, स्र्टाटर, ग्रोअर र फाइन क्याटागोरीमा दाना बिक्री वितरण गर्दै आएको छ । वार्षिक ३६ हजार मेट्रिक टन दाना उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५८ करोड ६८ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२३ को तीन महिनाको अवधिमा सन् २०२२ को तुलनामा ९ प्रतिशतले व्यापार घटेको जनाएको छ ।

कम्पनीले मुख्य कच्चा पदार्थ मकै र भटमासलगायत अन्य कच्चा पदार्थ आयात गरी दाना उत्पादन गर्दै आएको छ । उक्त कच्चा पदार्थको मूल्य बढ्दा नाफामा प्रभाव परेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु