दुई उद्योगीको मृत्यु: समस्या समयमै सम्बोधन होस्-उद्योग संगठन मोरङ



काठमाडौं । उद्योग संगठन मोरङले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्न नियमनकारी नियकायलाई आग्रह गरेको छ ।

दुई दिनमा इलाम निवासी उद्योगी व्यवसायी प्रेम प्रसाद आचार्य र विराटनगर निवासी व्यवसायी मोहन न्यौपानेको मृत्यु घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको भन्दै संगठनले दुखद् र मार्मिक घटनाले उद्योगी/व्यवसायीले भोग्दै आएको भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेको उल्लेख गरेको छ ।

यस्ता घटना आगामी दिनमा दोहरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको संगठनले जनाएको छ ।

देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद् आत्मदाहले राज्य र राज्यका संचालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको भन्दै संगठनले यस घटनाबाट पाठसिकि काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक वाँच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रकृयागत सुधारका लागि सम्वन्धित सबैमा अपिल गरेको छ ।

उद्योग व्यवसायलाई पेशा बनाइ दैनिकी जीवनयापन गर्दै आएका व्यवसायीलाई असफलताबाट हतोत्साहित भई अप्रिय निर्णय लिनुभन्दा पनि पेशागत संघ/संस्थाको माध्यमबाट पद्धति सुधारका लागि राज्यका संयन्त्रहरुलाई दबाब दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणा श्रोत हुन संगठनले अपिल गरेको छ ।

‘व्यवसाय संचालनका दौरानमा विभिन्न समयमा आईपर्ने वाधा व्यवधानको एकल रुपमा गरिएको प्रयासलाई असफलताको अन्तिम प्रयासका रुपमा ब्याख्या नगरी यस संगठनको तर्फबाट समाधानका लागि सामूहिक प्रयासका लागि अनुरोध गर्दछौं’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु