साढे २ अर्ब ऋण लिएर देशभर इन्टरनेट र टेलिभिजनको पहुँच विस्तार गर्दै विज्ञापन टेक



काठमाडौं । देशभर इन्टरनेट र टेलिभिजनको पहुँच विस्तार गर्न विज्ञापन टेक प्रालिले करिब साढे २ अर्बको ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १० करोड रुपैयाँ गरी २ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ ऋण लिने भएको हो ।

कम्पनीले देशभर आफ्नो सेवाको विस्तार बढाउन हालसम्ममा ३ अर्ब ११ करोड २८ लाख रुपैयाँ खर्चेर डिभाइन स्ट्रिम नेटवर्क प्रालि खरिद गरेको छ ।

त्यसैगरी, कम्पनीले आफ्नो सेवाको पहुँच विस्तार गर्न ८० वटा साना स्थानीय केबल अपरेटर पनि खरिद गरेको छ । कम्पनीले उक्त केबल अपरेटर खरिदका लागि ७७:२३ को अनुपात राखेको छ ।

कम्पनीले ग्राहकको मागअनुसार सेटअप बक्स, राउटर र अन्य वस्तुहरु बिक्री गर्दै आएको छ । कम्पनीले उक्त सामग्री एलसीमाफत् आयात गर्दै आएको छ ।

पछिल्लो समय डिजिटलको बढ्दो प्रयोगले डिजिटल मिडियामा बढ्दो आकर्षण छ । त्यसमा पनि इन्टरनेट सेवा प्रदायकको माग उच्च छ । हालसम्ममा देशभर ६० वटा इन्टरनेट प्रदायक संस्था छन् । जसमा देशभर २२ लाख ३० हजार बढी ग्राहक छन् । साथै, इन्टरनेट प्रदायक संस्थाहरुबीच पनि बढ्दो प्रतिस्पर्धा छ ।

त्यसैले, कम्पनीले देशभर आफ्नो पहुँच बढाउनका लागि थप लगानी गर्ने भएको हो । विज्ञापन टेकले विगत २६ वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको छ । डिभाइन स्ट्रिम नेटवर्क प्रालिले सन् २०१६ देखि मेरो टिभी ब्रान्डअन्तर्गत केबल टिभीको सेवा दिँदै आएको छ । पछि कम्पनीले केबल टिभीले स्काई केबल टीभी ब्रान्डमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । कम्पनीले सन् २०१९ देखि स्काई ब्रान्डमा केबल/डिजिटल टिभी बिजनेसको सेवा दिँदै आएको छ ।

दुई दशक केबल टिभीको सेवा दिँदै आएको कम्पनीको देशको सातै प्रदेशमा १०५ वटा शाखा र ८० स्थानीय केबल अपरेटर विस्तार गरिसकेको छ । कम्पनीको देशभर २ लाख ८० हजार डिजिटल टिभी ग्राहक छन् भने १ लाख १० हजार इन्टरनेट ग्राहक छन् ।

भोज कुमारी अर्जेल र सुरेन्द्र क्षेत्री प्रबन्ध निर्देशक हुन् । उनीहरु वेभ सर्भर नेपाल कम्यूनिकेशनको सिस्टमको प्रबन्ध निर्देशक हुन् भने डिभाइन स्ट्रिम नेटवर्कको निर्देशक हुन् । क्षेत्री ब्रिङ मिडिया एण्ड डिस्ट्रिब्यूटर प्रालि र नेपाल डिजिटल प्रालिमा पनि स्वामित्व छ ।

कम्पनीले विशेषगरी उपत्यकाबाट बढी आम्दानी गर्दै आएको छ । त्यसैले, कम्पनीले विभिन्न ग्रामीण क्षेत्रमा पनि लगानी गरी सेवा विस्तार गर्ने तयारी गरेको छ । कम्पनीअनुसार सन् २०२२ मा ५८ प्रतिशतले आम्दानी घटेको जनाएको छ ।

कम्पनीले रिटेल इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, इन्ट्रानेट, डिजिटल र आइपी टेलिभिजन सब्सक्रिप्सनबाट आम्दानी गर्दै आएको छ । कम्पनीको देशभर २६० वटा आइ डेफिनेशन (एचडी) च्यानल सञ्चालनमा छन् ।


क्लिकमान्डु