६ महिनामा करिब साढे १ खर्बको लगानी प्रतिबद्धता, विदेशी लगानी स्वीकृत ४३% ले घट्यो



काठमाडौं । स्वदेशी तथा विदेशी व्यवसायी चालु आर्थि वर्षको ६ महिनाको अवधिमा करिब १ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा स्वदेशी तथा विदेशी व्यवसायीबाट १ खर्ब ३९ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएका हुन् ।

उद्योग विभागको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष ६ महिनाको अवधिमा लगानी २७ प्रतिशतले कमी आएको छ । बजारमा तरलता अभावका कारण लगानीयोग्य रकम नहुँदा नयाँ उद्योगमा लगानी हुन सकेको छैन । साथै, बजारमा माग नभएको अवस्थामा व्यवसायीहरु लगानी गर्न डराइरहेका छन् । जसले गर्दा उद्योग दर्तामा प्रत्यक्ष असर देखिएको विभागको भनाइ छ ।

गत वर्षको ६ महिनाको अवधिमा १ खर्ब ९० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएको थियो । गत वर्षको सो अवधिमा उद्योग विभागमा १५५ वटा उद्योत दर्ता भएका थिए । जसमा ४६ वटा ठूला, ५७ वटा मध्यम र ५२ वटा साना लगानीको उद्योग दर्ता भएका थिए । तर, यो वर्षको सोही अवधिमा १४५ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएको उद्योगमध्ये सबैभन्दा बढी साना खालका उद्योग दर्ता भएका छन् ।

ठूला उद्योग दर्ताका लागि पर्याप्त रकम नहुँदा साना उद्योग मात्रै दर्ता भइरहेको व्यवसायीहरुले जनाएका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३९ वटा मात्रै ठूला उद्योग दर्ता भएका छन् । त्यसैगर ४१ वटा मध्यम र ६५ वटा साना उद्योग दर्ता गरेका छन् । दर्ता भएका उद्योगले समग्रमा ९ हजार ९१६ जनाले रोजगारी पाउनेछन् ।

उद्योग विभागमा शुरुदेखि हालसम्ममा २७ खर्ब ६६ अर्बको लगानी प्रतिबद्धता जनाएका छन् । सो अवधिमा ८ हजार ९०९ वटा साना, मध्यम र ठूला उद्योग दर्ता गरेका छन् ।

त्यसैगरी, चालु आर्थिक वर्षको ६ महिनाको तुलनामा गत वर्षको सोही अवधिमा वैदेशिक लगानी स्वीकृत ४३.३९ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनाको अवधिमा ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाएका थिए । यो वर्षको सोही अवधिमा १७ अर्ब ३० करोड रुपैयाँ मात्रै विदेशी लगानी प्रतिबद्धता आएको छ ।

६ महिनाको अवधिमा १३१ वटा विदेशी लगानी स्वीकृति गरेका छन् । गत वर्षको सोही अवधिमा १२९ वटा विदेशी लगानी स्वीकृत गरेका थिए । चालु आर्थिक वर्षको ६ महिनामा ११० वटा साना, १९ वटा मध्यम र २ वटा ठूला उद्योगका विदेशी लगानी स्वीकृत गरेका छन् ।

त्यस्तै, हालसम्ममा ४ खर्ब ३६ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएका छन् । साथै, २ लाख ९९ हजार ९६१ जनाले रोजगारी पाएका छन् ।

साथै, पुस महिनामा मात्रै विदेशी लगानीको २० वटा उद्योगको लगानी स्वीकृत गरेका छन् । उक्त उद्योगको कूल विदेशी लगानी ४ अर्ब ८५ करोड २० लाख ८० हजार रुपैयाँ रहेको छ । विदेशी लगानीमा स्वीकृत भएका उद्योगमध्ये ३ वटा उत्पादनमूलक, ७ वटा सेवामूलक, २ वटा पूर्वाधार, ३ वटा सूचना प्रविधि र पर्यटनमूलकका ५ वटा उद्याृेगको प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु