दोस्रो चरणको मर्जरमा नेपालमा ७/८ वटा मात्रै बैंक हुन्छन्: अध्यक्ष पाँडे



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु भएको छ ।

दुवै बैंक मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट बुधबार कारोबार शुरु भएको भएको हो । एकीकृत बैंकका अध्यक्षमा पृथ्वीबहादुर पाँडे सर्वसम्मत चुनिएका छन् । बुधबार बिहान बसेको सन्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष पाँडेले इन्भेष्टमेन्ट बैंकको ३६ बर्ष र मेगा बैंकको १२ बर्षको अनुभव एकीकृत भएको बताए।

पाण्डेले तत्कालीन गभर्नर चिरञ्जीवी नेपाललाई बैंक धेरै भएकाले मर्जर गर्न आफूले सुझाव दिएको स्मरण गरे ।

‘मलाई गभर्नरले सोध्नु भयो, पाण्डेजी बैंक धेरै भए अब के गर्ने?,’ उनले भने, ‘मैले गभर्नर साहेब बैंक ३२ वटा छन् मर्जर गरौं भनें । उहाँले धेरै ठाउँमा त्यही भन्नुभएछ ।’

अर्थतन्त्र सानो भएको र बैंक धेरै भएकाले मर्जरमा जानु पर्ने सुझाव आफूले दिएको उनको भनाइ थियो ।

अहिले बैंक मर्रजको पहिलो चरण भएको भन्दै पाँडेले दोस्रो चरणमा बैंकको संख्या बढीमा ७/८ वटा मात्रै हुने दाबी गरे ।

उनले भारत, बंगलादेश, थाईल्यान्ड लगायतका देशको जीडीपीको आकार र बैंकको संख्याको उदाहरण दिँदै नेपालमा बैंक धेरै भएको बताए । बैंक ठूलो भए डिपोजिटरको पैसा सुरक्षित हुने उनको भनाइ थियो ।

अध्यक्ष पाँडे अब प्रविधिमा लगानी बढाउन आवश्यक रहेको धारणा राखे । अब नयाँ क्षेत्रमा लगानी गर्नुको बिकल्प नरहेको उनी बताउँछन्।

मर्जसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्चेन्ट बैकिङमा पहिलो हुने बताए । उनले आगामी दिनमा कर्मचारीलाई टिकाउन नसक्ने हो भने समस्या पर्ने बताए । अहिले कर्मचारी टिकाईराख्न चुनौति रहेको उनको भनाइ छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड हुने छ ।


क्लिकमान्डु