विराटनगरमा राजस्वको बजार अनुगमन सुरु, ९५ लिटर इनामेल जफत



विराटनगर । राजश्व चुहावट समिति मोरङले बजार अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा उत्पादित मिति केरमेट गरिएका ९५ लिटर इनामेल(रङ) जफत गरिएको छ ।

त्यस्तै विराटनगर भन्सारमा राजश्व नतिरी ल्याइएका चिनी, दाललगायतका दैनिक उपभोग्य सामग्री सामग्री पनि जफत गरिएको छ । जफत गरिएको इनामेल बाणिज्य कार्यालयले जिम्मा लिएसँगै सम्बन्धित कम्पनी र व्यापारीलाई कारबाही अघि बढाइएको छ । भन्सारमा राजश्व नतिरी ल्याइएका दैनिक उपभोग्य सामग्री विराटनगर भन्सार कार्यालयलाई बुझाइएको छ ।

अनुगमन टोलीमा, राजश्व अनुसन्धान कार्यालय इटहरी (सुनसरी), आन्तरिक राजश्व कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर भन्सार कार्यालय, बाणिज्य कार्यालय विराटनगर र विराटनगर भन्सार कार्यालय रहेका छन् । त्यस्तै टोलीमा विराट व्यापार संघ, विराटनगरका प्रतिनिधि र प्रहरीको टोली पनि संलग्न रहेको थियो ।

टोलीले किराना, मदिरा कपडा र हार्डवयर पसलहरूमा मंगलबार अनुगमन गरेको थियो । भन्सार चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनलाई तीव्र बनाइएको आन्तरिक राजश्व कार्यालयका प्रमुख डा दिलबहादुर क्षेत्रीले बताए । यसपटकको अनुगमन आन्तरिक राजश्व कार्यालयको अगुवाइमा गरिएको उनको भनाइ छ ।

सीमा क्षेत्रबाट चोरी तस्करी भई आउने वस्तु बिक्री वितरण हुने क्रम बढेको गुनासोसँगै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन सुरु गरिएको उनले बताए । तस्करी र राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वको टोलीले सुरु गरेको बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

बजार अनुगमनका क्रममा मंगलबार दुई वटा हार्डवेयर पसल, दुई वटा मदिरा पसल, एउटा किराना पसल र एउटा कपडा पसलको अनुगमन गरेको थियो । कर छली र तस्करीको सामानको अवैध व्यापार गर्ने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. क्षेत्रीले जानकारी दिए ।

अनुगमन टोलीले व्यवसायीहरुलाई बिलविजक जारी गर्न, तस्करीको सामान नकिन्न र म्याद सिद्धिएका सामान पसलमा नराख्न निर्देशन पनि दिएको थियो ।

पछिल्लो समय भन्सार नतिरी मेसिनरी पार्टपूर्जा, हार्डवेयरका विभिन्न सामानहरु, चिनी, लत्ताकपडा, दूधलगायत विभिन्न किराना वस्तुहरु चोरी तस्करी गरी ल्याउने क्रम बढेको छ ।

नियमनकारी निकायहरुले विशेषगरी ठूला चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने र अरुबेला बजारलाई बेवास्ता गर्ने गरिएको गुनासो बढिरहेको बेलामा भएको बजार अनुगमनले बजारको बेथिति रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

भन्सार चोरी पैठारी नियन्त्रण गर्न र राजश्व वृद्धि गर्ने उद्देश्यले राजश्व सचिव रामेश्वर दंगालको नेतृत्वमा केन्द्रीय अनुगमन समितिको टोली यही पुस ७ गते विराटनगर भन्सार कार्यालयको बैठकका क्रममा कडा निर्देशन गरेको थियो ।

टोली विराटनगरबाट फर्किएको दुई साता नबित्तै यहाँको स्थानीय अनुगमन टोलीबाट बजार अनुगमन थालिएको हो । अनुगमन क्षणिकमात्र नभएर नियमित र निरन्तर हुनुपर्ने उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलको भनाइ छ ।

केन्द्रीय अनुगमन समितिको टोलीमा आन्तरिक राजश्व कार्यालयका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशी दाहाल, नेपाल प्रहरीका नायब महानिर्देशक वसन्त कुँवर र गृहमन्त्रालयका सहसचिव पणिन्द्र पोखरे संलग्न थिए ।

यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफू नियुक्ति भएलगत्तै सम्बधित निकायका जिम्मेवार व्यक्तिहरूलाई बोलाएर चोरी, तस्करी र राजश्व चुहावट नियन्त्रण गरी राजश्व संकलनमा वृद्धि गर्न निर्देशन दिएका थिए ।


क्लिकमान्डु