गृहमन्त्री रविलाई मेयर बालेनको पत्र: अवैध संरचना हटाउन सुरक्षा प्रवन्ध गरिदिनुस्



काठमाडौं । काठमाडौं महानगरपालिकाले गृहमन्त्रालयसँग थापाथलीस्थित बागमती नदी किनारामा रहेका अनाधिकृत संरचना हटाउन सहयोग मागेको छ ।

बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृहमन्त्रालयलाई पत्र लेख्दै नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेका हुन् ।

थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचनाहरु हटाउन पटक पटक प्रयास भएको भन्दै महानगरले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडी बढाउनु पर्ने देखिएको पत्रमा उल्लेख गरेको छ ।

त्यसका लागि गृहमन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन महानगरले अनुरोध गरेको हो ।

‘अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित / अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बाग्मती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’ अधिकारीले गृहमा पठाएको पत्रमा भनिएको छ ।

यसअघि मंसिर १२ गते काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका अवैध संरचना हटाउन भन्दै डोजर लगेको थियो । तर स्थानीयको अवरोधका कारण उक्त कार्य सफल हुन सकेको थिएन । त्यसक्रममा महानगर प्रहरीमाथि सुकुम्बासी बस्तीका व्यक्तिले सांघातिक आक्रमण गर्दा केही अधिकारीहरु घाइते भएका थिए ।

महानगरको कार्यमा अवरोध भएसँगै मेयर बालेन शाह तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग माग गर्न पुगेका थिए । देउवाले मेयर शाहलाई सुकुम्बासी समस्या समाधान गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । देउवाले तत्कालीन गृहमन्त्रीसहितका अधिकारीलाई फोन गरेर सहयोग गर्न निर्देशन दिएका भए पनि त्यसको कार्यान्वयन भने हुन सकेको थिएन । जसका कारण महानगर अनधिकृत संरचना हटाउने अभियानबाट पछि हटेको थियो ।

तर, अहिले सरकारसहित गृहमन्त्रीसमेत फेरिएका छन् । गृहमन्त्री रवि लामिछाने बनेसँगै महानगरका मेयर शाहले अनधिकृत संरचना हटाउन उनको सहयोग मागेका हुन् । मेयर साहका स्वकीय सचिव भुपदेव शाहले गृह प्रशासनले सुरक्षा व्यवस्था प्रत्याभूत गरे महानगर अनधिकृत संरचना हटाउन तत्काल लागि पर्ने बताए ।


क्लिकमान्डु