इरानसँगको युद्ध टुंग्याएको ट्रम्पको दाबी

210
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त भएको दाबी गरेका छन् । उनले यसअघि लडाइँ रोक्नका लागि दुवै पक्ष निकै बलियो समझदारी पत्रमा सहमत भएको बताएका थिए ।

गभर्नरका लागि चुनाव लड्दै गरेका जर्जियाका लेफ्टिनेन्ट गभर्नर बर्ट जोन्सको समर्थनमा आयोजित एक टेलिर्यालीमा राष्ट्रपति ट्रम्पले भने, ‘तपाईंले सुन्नुभयो कि भएन मलाई थाहा छैन, तर हामीले आज इरानसँगको युद्ध समाप्त गर्यौं ।’ उनले अगाडि थपे, ‘उनीहरू परमाणु हतियार कहिल्यै नराख्ने कुरामा सहमत भएका छन् । त्यसमा हामीले अडान लिएका थियौं । हाम्रो सम्पूर्ण उद्देश्य नै त्यही थियो । यो सम्झौताको ९५ प्रतिशत हिस्सा त्यही हो ।’

ट्रम्पको यो अभिव्यक्ति शुक्रबार उनले इरानमाथि हुने थप सैन्य आक्रमणहरू रद्द गरेपछि आएको हो । त्यसमा उनले ट्रुथ सोसल मार्फत सम्झौताका शर्तहरू विस्तृत रूपमा नखुलाइकन एउटा सहमति भएको संकेत गरेका थिए ।

इरानले कुनै सम्झौता भएको कुरा पुष्टि गरेको छैन । ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा यो कारोबार अन्तिम रूपमा टुंगो नलागेसम्म इरानी बन्दरगाहबाट बाहिरिने वा प्रवेश गर्ने जहाजहरूमाथिको अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन् ।

ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही रद्द गरेको कुरालाई इरानीहरूले जानकारीमा लिए तापनि त्यहाँ अझै ठूलो मात्रामा अविश्वास र आशंका कायम छ ।

आफूहरूविरुद्ध हुने कुनै पनि आक्रमणले गम्भीर परिणाम ल्याउने र सम्झौताको दिशामा भएको कुनै पनि प्रगतिलाई उल्ट्याइदिने तेहरानले चेतावनी दिँदै भनेको छ ।