
नुवाकोट। नेपाल विद्युत प्राधिकरणले वर्षायाममा कुनै पनि कारणले विद्दुत आपूर्ति अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण र वितरण प्रणाली चुस्त राख्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
नुवाकोट लगायत विभिन्न स्थानका प्राधिकरण संरचनाको निरीक्षण पछि कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।
श्रेष्ठले गत वर्षको बाढीले क्षति पुऱ्याएको त्रिशूली–३बी हब सबस्टेशन (३०० मेगावाट क्षमता), त्रिशूली–३बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन अन्तर्गतका टावर नं. ८ र १५ मा विशेष ध्यान दिन निर्देशन दिए । ‘बाढीले जोखिममा पुर्याएका यी दुई टावर बिग्रिए झन्डै ३०० सय मेगावाट बिजुली प्रसारण प्रणालीबाट बाहिरिने खतरा छ,’ उनले भने ।
निरीक्षण टोलीमा कार्यकारी निर्देशक श्रेष्ठका साथै प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल र काठमाडौं ग्रिड महाशाखाका प्रमुख प्रज्वलमान श्रेष्ठ लगायतका उच्च अधिकारीहरू सहभागी थिए । टोलीले देवीघाट जलविद्युत केन्द्र, त्रिशुली जलविद्युत केन्द्र, नुवाकोट वितरण केन्द्र र निर्माणाधीन माथिल्लो त्रिशूली–३बी जलविद्युत आयोजनाको विस्तृत अनुगमन गरेको छ ।
भ्रमणका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले जलविद्युत केन्द्रहरूको विद्युत उत्पादन अवस्थाबारे जानकारी लिँदै वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी मजबुत बनाउन निर्देशन दिए ।
विगतका बाढीले क्षति पुऱ्याएका ड्याम तथा हेडवर्क्स लगायतका संरचनाहरूको संरक्षण र पुनःस्थापनाको कार्य यथाशीघ्र सम्पन्न गर्न पनि उनले जोड दिए ।
‘वर्षायाममा विद्युत आपूर्तिमा कुनै पनि अवरोध आउन दिनु हुँदैन,’ उनले भने, ‘पुनःनिर्माण र मर्मतसम्भारका कार्यलाई तीव्रता दिई प्रणालीलाई तयारी अवस्थामा राख्नुहोस् ।’
टोलीले त्रिशूली–३बी हब–समुन्द्रटार १३२ केभी प्रसारण लाइन अन्तर्गतको टावर नं. १२ को समेत टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
यसका साथै श्रेष्ठले नयाँ कर्मचारीहरूको प्राविधिक ज्ञान र सीप विकासका लागि अनुभवी कर्मचारीहरूबाट ज्ञान हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्देशन दिए । संस्थागत अनुभव र दक्षतालाई प्रभावकारी बनाउन सहभागितामूलक कार्यसंस्कृतिको विकास गरिनुपर्ने उनको भनाइ थियो ।
यसैगरी, कर्मचारीहरूलाई ग्राहक सेवाप्रति पूर्ण जिम्मेवार बन्न निर्देशन दिदै उनले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न कार्यालयका कर्मचारीहरूलाई सचेत गराएका थिए ।
सुरक्षित, भरपर्दो र निरन्तर विद्युत सेवा प्रवाहका लागि उत्पादन, प्रसारण र वितरण प्रणालीबीच प्रभावकारी समन्वय कायम गर्न आवश्यक रहेको औंल्याउँदै कार्यकारी निर्देशक श्रेष्ठले प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल र काठमाडौं ग्रिड महाशाखा प्रमुख प्रज्वलमान श्रेष्ठसहितको टोलीलाई प्राथमिकताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशित गरेका छन् ।









प्रतिक्रिया