सुकुम्बासी समस्याबारे प्रधानमन्त्रीले बालेनलाई भने-अगाडि बढ्नुस्, सहयोग हुन्छ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई सुकुम्बासी समस्या समाधान गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार दिउँसो थापाथलिस्थित सुकुम्बासी बस्ती खाली गराउने क्रममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीमाथि सांघातिक आक्रमण भएपछि प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह बेलुका बालुवाटार पुगेका थिए ।

भेटमा सहभागी प्रधानमन्त्री निकट स्रोतकाअनुसार मेयर शाहले प्रधानमन्त्री देउवालाई सुकुम्बासी बस्ती खाली गराउने क्रममा भएका घटनाको विषयमा जानकारी गराएका थिए ।

बागमती नदीको संरक्षणका लागि स्थापना भएको शहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहमा सोमबार महानगरको टोली अवैध रुपमा निर्माण भएका संरचना हटाउन गएको थियो ।

मेयर शाहले नियम विपरित निर्माण भएका संरचना हटाउनु महानगरको जिम्मेवारी रहेको भन्दै सहयोग गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए ।

अवैध रुपमा निर्माण भएका संरचना हटाउन सोमबार थापाथली पुगेको महानगर प्रहरीमाथि घरेलु हतियारसहित आक्रमण हुँदा समेत प्रहरी प्रशासनले सहयोग नगरेको भन्दै मेयर शाहले प्रधानमन्त्री देउवासँग असन्तुष्टी जनाएका थिए ।

अवैध संरचना हटाउन पुगेको महानगरको टोलीमाथि सुकुम्बासीहरुले आक्रमण गर्दा १८ जना नगर प्रहरी घाइते भएका थिए । अहिले पनि ४ जनाको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

मेयर शाहको कुरा सुनेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बागमती नदी किनारका अवैध बस्ती हटाउन महानगरलाई सहयोग गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाले मेयर शाहलाई अवैध संरचना र सरकारी जग्गा कब्जा गर्ने माथि महानगरले गरिरहेको कारबाहीमा संघीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्री देउवासँग भेटपछि बागमति नदी किनारको अवैध बस्ती खाली हुनेमा आशावादी देखिएको महानगरको टोली मंगलबारको घटनाक्रमबाट भने सन्तुष्ट देखिएको छैन ।

प्रधानमन्त्री देउवाले गृह प्रशासनलाई सहयोग गर्न निर्देशन दिँदा समेत मंगलबार अपराह्नसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं प्रहरी परिसरले सुकुम्बासी बस्ती खाली गराउन सहयोग गरेका छैनन् ।

महानगरका एक अधिकारी सुकुम्बासी बस्ती खाली गराउने विषयमा शहरी विकास मन्त्रालय, गृह मन्त्रालय र अन्य निकायको धारणा बुझ्ने काम भइरहेको बताउँछन् ।

‘प्रधानमन्त्रीको प्रतिवद्धतापछि आज काम हुन्छ भन्ने लागेको थियो,’ महानगरका एक अधिकारी भन्छन्,‘तर, अहिलेसम्म गृह प्रशासनबाट सहयोग मिल्ने प्रतिवद्धता आएको छैन । प्रहरी प्रशासनले सुरक्षाको ग्यारेन्टी नगर्दासम्म महानगर एक्लैले अवैध संरचना भत्काउन सक्दैन ।’

गृह मन्त्रालयका एक उच्च अधिकारी प्रधानमन्त्री र गृहमन्त्री बीच भएको छलफलको विषयमा आफूलाई केही थाहा नभएको बताउँछन् । ‘हामीलाई अहिलेसम्म सुकुम्बासी बस्ति खालि गराउन महानगरलाई सहयोग गर्नु भन्ने किसिमको कुनै प्रष्ट निर्देशन आएको छैन,’ उनले भने,‘प्रधानमन्त्रीले मेयर सापसँग के प्रतिवद्धता जनाउनु भयो त्यो हामीलाई थाहा भएन ।’


क्लिकमान्डु