विशाल ग्रुपद्वारा सञ्चालित कमला रोलिङ मिलको व्यापार २ प्रतिशतले घट्यो



काठमाडौं । विशाल ग्रुपद्वारा सञ्चालित कमला रोलिङ मिल प्रालिको व्यापार २ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २ प्रतिशतले घटेको छ ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ७१ करोड रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ७६ करोड २० लाख रुपैयाँ गरेको थियो भने २०२० मा २ अर्ब २५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९१ देखि टीएमटी बार, फ्लाट, सेक्सन, ग्याल्भनाइज्ड आइरन÷हार्ड ब्राइट (जीआई/एचबी) वायर, शटर स्प्रिङ, बार्बेड वायरजस्ता वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

मोरङमा अवस्थित उद्योगले सन् २०२१ मा वार्षिक ८० हजार मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । जसमा ६० हजार मेट्रिक टन डण्डी र २० हजार मेट्रिक टन वायर सेक्सन उत्पादन गरेको थियो ।

कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । जसमा कम्पनीले एथ्री रेटिङ पाएको छ ।

विशाल ग्रपद्वारा सञ्चालित यस कम्पनीमा दुई जना बोर्ड निर्देशक छन् । जगदिशप्रसाद अग्रवाल अध्यक्ष र निकुञ्ज अग्रवाल व्यवस्थापन निर्देशक रहको कम्पनीले ‘कमला गोल्ड’ ब्रान्डमा स्टिलजन्य वस्तु बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले डण्डीसँगै विभिन्न प्रकारका तारहरु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२२ मा माग कम हुँदा आम्दानी कम भएको जनाएको छ ।

त्यसैगरी, सन् २०२२ मा कच्चा पदार्थको मूल्य अप्रत्यासित रुपमा बढ्दा वस्तुको मूल्यमा निकै असर पुगेको कम्पनीको भनाइ छ । सन् २०२२ मा कम्पनीको परिणामको व्यापारमा १५ प्रतिशतदे कमी आएको छ । जसमा कम्पनीले सन् २०२१ मा १ लाख ८३६ मेट्रिक टन सामाग्री बिक्री गरेकोमा सन् २०२२ मा ८६ हजार १४५ मेट्रिक टन मात्रै स्टिलजन्य सामाग्री बिक्री गरेका छन् ।

कम्पनीले सन् २०२२ मा १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२१ मा १६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । जसमा कम्पनीले सन् २०२२ मा ४.६१ प्रतिशतले नाफा कमाएको छ ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा मात्रै ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको उल्लेख छ । कम्पनस्ले आम्दानी गरेकोमध्ये करिब ९० प्रतिशत कच्चा पदार्थको हिस्सा छ ।


क्लिकमान्डु