विवादका बीच हिमालय रोडमा संरचना बनाइँदै



विराटनगर । विराटनगरको मध्य भागस्थित हिमालय रोड नमूना बन्दै छ । विवादका बीच स्थगित अवस्थाको सो रोडमा विभिन्न किसिमका संरचना बनाइने भएको हो । रोडमा संरचना बनाएर नमूना भन्न खोजिएको हो ।

सो रोडमा सबै संरचना निर्माण सम्पन्न गरेर एक महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । संरचना निर्माणको काम तीव्र रुपमा भइरहेको विराटनगर महानगरपालिकाले जनाएको छ । आधाभन्दा बढी काम यसअघि नै भइसकेको छ ।

भारतको सिक्किमस्थित एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । स्थानीयको विरोध र ठेकेदारको लापरबाहीका कारण दुई वर्षदेखि निर्माणले गति लिन सकेको थिएन ।

सो संरचना बनाउने निर्णय त्यो बेलाका मेयर भीम पराजुलीले गरेका थिए । सो रोडमा बर्खा पानी डुबेर चुर्लुम्म हुने गरेको छ ।

वर्तमान मेयर नागेश कोइरालाले केही दिनअघि ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए । त्यसपछि सो रोडमा बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यकरणको काम तीव्र रुपमा भइरहेको मेयरका प्रेस संयोजक मीनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सो सडकको संरचना बिगारेको भन्दै स्थानीय अझै पनि विरोध गर्दै आएका छन् । यो सडकलाई एमजी रोडकै नमुनामा बनाउनु हुने र नहुने पक्ष–विपक्षमा स्थानीयसमेत विभाजित भएका छन् । तर, यसअघि नै महानगरको ठूलो लगानी भइसकेकाले बनाउनुको विकल्प नभएको मेयर कोइरालाले बताए ।

कुठाउँमा नमूना सडक भनेर अनावश्यक संरचना बनाउँदा हाम्रो व्यापार व्यवसायलाई बाधा पुगेको स्थानीय पब्लिक बुक सेन्टरका माधव अघिकारीले बताए । सो ठाउँका सटिङ सुटिङ पसलका सञ्चालक पुस्प कटुवालले सो सडकमा संरचना निर्माण हुन थालेपछि व्यापार स्वात्तै घटेको भन्दै त्यहाँबाट पसल अन्यत्रै सार्न बाध्य भएको बताए ।

‘अब हामी यो रोडको डिजाइनअनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं,’ मेयर कोइरालाले भने, ‘त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेका छु ।’

मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले तीनपटक अनुगमन गरिसकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो ।

टु–लेण्डको सो रोडको एकापटी संरचना निर्माण गरिएको कारण अर्कोतिरबाट मात्र साना सवारी साधनहरू गुड्ने गरेका छन् । नयाँ संरचना बनेलगत्तै ठूला सवारी साधनलाई निषेध गरिएको छ ।


क्लिकमान्डु