कच्चा पदार्थको मूल्य बढ्दा अर्घाखाँची सिमेन्टको आम्दानी घट्यो, नाफामा ठूलो ह्रास



काठमाडौं । विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थ, कोइला र अन्य विभिन्न कच्चा पदार्थको मूल्य बढ्दा अधिकांश उद्योगमा असर देखिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले गर्दा नेपालका उद्योगमा पनि प्रत्यक्ष असर देखिएको छ ।

त्यस्तै, कोइला र तेललगायत अन्य कच्चा पदार्थको मूल्य बढ्दा अर्घाखाँची सिमेन्ट प्रालिको व्यापारमा कमी आएको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा १ अर्ब रुपैयाँ कम व्यापार भएको छ । कम्पनीले सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, बजारमा कच्चा पदार्थको मूल्य बढ्दा कम्पनीले सन् २०२२ मा ७ अर्ब ७० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा ७ अर्ब ३७ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा ९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता भएको कम्पनीमा विभिन्न ८ जना व्यक्तिको स्वामित्व छ । सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत हिस्सा रहेको छ ।

कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी नेपाली बजारमा ‘अर्घाखाँची सिमेन्ट’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब २२ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७४ करोड ७० लाख रुपैयाँ अर्थात् ट्रीपल बी र अल्पकालीन कर्जाका लागि ३ अर्ब ४७ करोड ९० लाख अर्थात् एथ्री रेटिङ पाएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा कोइला, तेल र चुनढुङ्गाको अत्याधिक मूल्य बढ्दा आम्दानी कम भएको जनाएको छ । साथै, कम्पनीको परिणाणको आधारमा व्यापार पनि कम भएको देखिन्छ ।

त्यस्तै, सन् २०२२ मा १ अर्बले आम्दानी घटेकोमा नाफा भने ह्वात्तै घटेको छ । कम्पनीले सन् २०२२ मा २३ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा ८ प्रतिशत मात्रै नाफा कमाएको छ ।

सन् २०२२ मा चुनढुङ्गाको मूल्य र अन्य कच्चा पदार्थको मूल्य अत्याधिक बढ्दा नाफा कम भएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु