खाने तेलको ब्यापार मालामालः १ वर्षमा त्रिवेणी र शिव शक्ति ग्रुपको कारोबार साढे ६ अर्ब



काठमाडौं । त्रिवेणी र शिव शक्ति ग्रुपद्वारा सञ्चालित महालक्ष्मी सोल्भेट एण्ड रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ४९ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ७ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ३ अर्ब २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार पछिल्लो ५ वर्षमा निरन्तर ३५ प्रतिशतले व्यापार बढेको जनाएको छ । त्यस्तै, सन् २०२२ मा पनि कम्पनीको व्यापार ३५ प्रतिशत बढेको उल्लेख छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै प्रशोधन गरी आन्तरिक बजार र निर्यात गर्दै आएको छ । वार्षिक ५६ हजार मेट्रिक टन भटमास र पामोलिन तेल प्रशोधन गर्ने क्षमता कम्पनीसँग छ । त्यस्तै, कम्पनीले सन् २०२२ देखि सनफ्लावर तेल प्रशोधन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ । उक्त उद्योगबाट पनि छिट्टै आम्दानी गर्ने कम्पनीको भनाइ छ ।

विरेन्द्रकुमार संघाई अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ४२ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एफोर प्लस रेटिङ पाएको छ ।

कम्पनीले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्दै आएकोमा प्रशोधन गरेको तेल भारततर्फ निर्यात गर्दै आएको छ । कम्पनीले सन् २०२१ मा आम्दानी गरेकोमध्ये ५४ प्रतिशत निर्यात गरेको थियो । त्यस्तै, सन् २०२२ मा आम्दानी गरेकामध्ये ७४ प्रतिशत निर्यात भएको जनाएको छ ।

कम्पनीले सन् २०२२ मा ४ अर्ब ७७ करोड रुपैयाँको तेल भारततर्फ निर्यात गरेको छ । नेपालमा तेलका लागि आवश्यक कच्चा पदार्थको उत्पादन निकै कमजोर छ । बजारमा उच्च माग तर उत्पादन निकै कमजोर हुँदा आयात गर्नुपर्ने बाध्यता छ ।


क्लिकमान्डु