शिभम् ग्रुपद्वारा सञ्चालित दुई कम्पनीले एकै वर्ष गरे पौने २ अर्बको व्यापार, साढे १ अर्बको रेटिङ



काठमाडौं । शिभम् ग्रुपद्वारा सञ्चालित दुईवटा खाद्यान्न कम्पनीले एकै वर्ष पौने २ अर्बको व्यापार गरेका छन् ।

श्री कृष्ण आधुनिक दाल उद्योग र रक्क्षम इन्टरनेशनलले एकै वर्ष १ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेका हुन् ।

कम्पनीले सन् २०२२ मा उक्त रकम बराबरको व्यापार गरेको जनाएको छ । कम्पनीकाअनुसार सन् २०२२ मा दाल उद्योगले ९० करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ भने रक्क्षम इन्टरनेशनलले ८४ करोड ४९ लाख रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै, शिभम् ग्रुपले यी दुई कम्पनीमार्फत् साढे १ अर्बको रेटिङ गराएको छ । दाल उद्योगले ८५ करोड रुपैयाँ र रक्क्षम इनटरनेशलले ५९ करोड ५० लाख रुपैयाँ गरी १ अर्ब ४४ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

सन् २०२२ मा दाल उद्योगको व्यापार सन् २०२१ को तुलनामा १६ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । सन् २०२२ मा अधिकांश वस्तुको मूल्य बढ्दा आम्दानी बढेको देखिएको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२१ मा ८४ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००१ मा उद्योग स्थापना गरेको कम्पनीले नेपाली बजारमा विभिन्न प्रकारका दाल प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । वार्षिक ३० हजार मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले मसुर दाल, मास सानो गेडा, भाप, केराउ र अन्य विभिन्न प्रकारका दाल प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ मा ९.८४ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले ६.७४ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले पूजा, मोबाइल, बालभद्र र कंगारो ब्रान्डमा विभिन्न प्रकारका प्याकेजमा दाल बिक्री गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२२ मा आम्दानी गरेको रमकमध्ये ८२ देखि ८८ प्रतिशत कच्चा पदार्थको हिस्सा रहेको जनाउको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै बजारमा बिक्री वितरण गर्दै आएको छ ।

त्यसैगरी, अर्को कम्पनी रक्क्षम इन्टरनेशनलले सन् २०२१ मा १ अर्ब १ करोड ५६ लाख रुपैयाँ र सन् २०२० मा ४१ करोड ७८ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार हेर्दा सन् २०२१ को तुलनामा सन् २०२२ मा ह्वात्तै घटेको देखिन्छ ।

कम्पनी खाद्यान्न क्षेत्रको बिक्री वितरण संलग्न छ । सन् २०१६ मा स्थापना भएको रक्क्षम इन्टरनेशनलले खाद्यान्न, तेलको दाना, पशुको दाना, ड्राई फ्रुट र निर्माण सामाग्री बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अधिकांश कच्चा पदार्थ बजारको मागअनुसार आयात गरी प्रशोधन गर्दै बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा ३९ प्रतिशतले पशुको दानाको आयात घटेको जनाएको छ । सन् २०२१ मा ७० प्रतिशतले दाना आयात भएको थियो ।

दुईवटै कम्पनीमा पवन साहको स्वामित्व छ । साह शिभम् ग्रुपका अध्यक्ष हुन् ।


क्लिकमान्डु