मंसिर १२ मा भैरहवा-दिल्ली उडान नहुने, नियामक निकायबाट अझै मिलेन स्वीकृति



काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवा–दिल्ली उडान स्थगित गरेको छ । निगमले मंसिर १२ गते भैरहवाबाट दिल्लीतर्फ सिधा उडान गर्ने तयारी गरेको थियो ।

भारतीय उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालयले भैरहवा–दिल्ली उडान गर्न अनुमति नदिएपछि निगमले तत्काललाई उडान स्थगित गर्ने निर्णय गरेको हो ।

निगमले गत मंसिर २ गते भैरहवा–दिल्लीतर्फ सातामा २ वटा उडान गर्न अनुमति माग गर्दै नागरिक उड्डयन महानिर्देशनालयमा निवेदन दिएको थियो ।

तर, आजसम्म महानिर्देशनालयले निगमलाई दिल्ली उडान गर्न दिने वा नदिने भन्ने विषयमा कुनै निर्णय नगरेपछि पूर्व निर्धारित उडान स्थगित गरिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

‘नेपाल र भारतका नियामक निकायले उडान अनुमति दिएपछि हामी भैरहवा–दिल्लीको उडान योजना सार्वजनिक गर्नेछौं,’खड्काले भनिन्,‘दुवै देशका नियामक निकायले तत्कालै उडान अनुमति दिन्छन् भन्ने हामीलाई विश्वास छ ।’

नेपालकै प्राधिकरणले पनि दिएन अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज(बिहीबार) सम्म भैरहवाबाट दिल्ली उडान गर्न नेपाल वायु सेवा निगमलाई अनुमति दिएको छैन । जबकी गत कात्तिक १३ गते प्राधिकरणले नै निगमको काठमाडौं–दिल्लीतर्फ सातामा २ वटा उडान कटौति गर्दै भैरहवाबाट दिल्लीतर्फ उडान गर्न निर्देशन दिएको थियो ।

निगमको काठमाडौं दिल्लीतर्फ सातामा दुईवटा उडान कटौति गरेको प्राधिकरणले दुईवटा भारतीय वायु सेवा कम्पनीलाई दिल्ली काठमाडौं सेक्टरमा उडान गर्न अनुमति दिइसकेको छ ।

प्राधिकरणको अनुमतिपछि इन्डिगो एयर र भिस्तारा एयरले दैनिक एक/एक उडान थप गरिसकेका छन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला केही कागजात अपुग भएपछि निगमलाई भैरहवा दिल्लीको उडान अनुमति दिन समय लागेको बताउँछन् ।

‘उहाँहरुले आज बेलुकासम्म कागजात ल्याउनु भयो भने आजै उडान अनुमति जारी हुन सक्छ,’ निरौलाले भने ।

प्राधिकरणले आजै उडान अनुमति जारी गरे पनि भारतीय महानिर्देशनालयले उडान अनुमति नदिँदासम्म भैरहवाबाट दिल्ली उडान हुने सम्भावना छैन ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ ठेकेदार संलग्न भएका भन्दै भारतीय महानिर्देशनालयले तत्काल उडान अनुमति जारी गर्ने सम्भावना कम रहेको निगमका एक अधिकारी बताउँछन् ।


क्लिकमान्डु