मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला हुने



काठमाडौं । मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म होटल हायात रिजेन्सीमा १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

महासंघले हस्तकला सामानहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धन, प्रचारप्रसार तथा बस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्धन गर्ने जनाएको छ । महासंघले नेपालमा उत्पादन भएका वस्तुको प्रवद्र्धन गर्नका लागि आगामी कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मेलामा देशभरका विभिन्न जिल्लाका व्यवसायीहरूको १५० वटा स्टलमा हस्तकला प्रदर्शन हुनेछ । पाँच दिनसम्म हुने प्रदर्शनमा महासंघले परम्परागत तथा कला प्रतियोगिता अन्तर्गत काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरूड बनाउने विधा र प्राकृतिक रेसाहरूको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गर्नेछ ।

साथै, कला पर्दर्शनी अन्तर्गत फिलगिरी, थोजामाज्या र पौका, थांका, ऊनी, ढाका, कपडा गरी ३ वटा विधामा कला प्रदर्शनी गर्नेलाई सम्मान गर्ने भएको छ ।

जसमा परम्परागत विधामा र समसामयिक विधामा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतियलाई २० हजार रकमसहित प्रमाणपत्र वितरण गर्नेछ ।

साथै, महासंघले ७० वर्ष नाघेका जेष्ठ कलाकारहरूलाई तथा हस्तकला वस्तुहरू विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ठ निकासीकर्तालाई सम्मान गर्ने भएको छ । महासंघले ४० हजारदेखि १ लाख २० हजारसम्म स्टलको मूल्य तोकेको छ ।

त्यसमासहभागी हुन चाहने अवलोकनकर्ताले १ सय रुपैयाँको टिकट खरिद गरी अवलोकन गर्न पाउनेछन् ।

महसंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेतालाई एक स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु रहेकाले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ ।

व्यापार मेलामा एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत प्रदर्शनी तथा बिक्री, उत्कृट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरूको प्रदर्शन, परम्परागत तथा नवोधित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदा आइसीएको उजागर, क्राफ्ट प्रतियोगिता हुने भएको छ ।

मेलामा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी व्यवसायीले विदेशी आयातकर्तासँग व्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्ने महासंघको भनाइ छ ।

साथै, व्यापार मेलाले यस क्षेत्रमा सकारात्मक उर्जा उत्पन्न गर्न सहयोग पु¥ याउने महासंघले विश्वास लिएको छ ।

उक्त व्यापार मेलाले नेपाली हस्तकलाको आन्तरिक बजार तथा निर्यात व्यापारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्ने जनाएको छ ।

त्यस्तै, स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रेता बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्न, नवोदित उद्यमी व्यवसायीहरुलाई बजार पहुँचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाको सम्बन्धमा जनभावना उजागर गर्न यो मेलाको महत्वपूर्ण भूमिका रहने महासंघले अपेक्षा राखेको छ ।मेलाबाट ३ करोड रूपैयाँ बराबरको आम्दानी हुने महासंघले जनाएको छ ।

सो मेलामा करिब ५ लाखदेखि १० लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । ८० मुलुकभन्दा बढी देशमा निर्यात हुँदै आएको हस्तकला व्यवसायी तथा उद्योगीले सामान्य अवस्थामा वार्षिक १२ अर्ब रुपैयाँसम्मको हस्तकला निर्यात गर्दै आएका थिए ।


क्लिकमान्डु