मतदातालाई धन्यवाद दिँदै गगन थापाले भने- आजैदेखि प्रधानमन्त्री बन्ने तयारी थाल्छु



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका काठमाडौं ४ का नवनिर्वाचित सांसद् गगन थापाले आजकै दिनदेखि देशको नेतृत्व गर्ने तयारी थाल्ने घोषणा गरेका छन् ।

निर्वाचन जितेपछि मतदातालाई सम्बोधन गर्दै भने, ‘आजैदेखि कांग्रेसको संसदीय दलको नेताको निर्वाचनको तयारी थाल्छु ।’

उनले गठबन्धनले बहुमत ल्याउने र ठूलो पार्टीका हैसियतमा कांग्रेसको संसदीय दलको नेता स्वत प्रधानमन्त्रीको दाबेदार हुने प्रष्ट पारे ।

‘निर्वाचनको प्रारम्भिक परिणामका आधारमा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रष्ट छ, चुनावपछि गठबन्धनको सरकार बन्छ,’ थापाले भने, ‘नेपालमा जनताले स्थिर सरकार मात्रै खोजेको होइन, नयाँ चालक पनि खोजेको हो । नयाँ कसैले नयाँ चालक दिन सक्छ भने कांग्रेसले मात्रै सक्छ । कांग्रेसले देशलाई नयाँ नेतृत्व दिन आवश्यक छ । यो मेरो बिचार मात्रै होइन, जनताको अभिमत हो । म आजैबाट नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको तयारी गर्छु ।’

संवैधानिकरुपमा ५ वर्षको सरकार भएपनि ५ महिनामा सरकारले जनताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो । किनभने, देशको अर्थतन्त्रको अवस्था निकै जर्जर भएको भन्दै जनतामा आशाको किरण दिन नयाँ नेतृत्वमात्रै सक्षम हुने उनको भनाइ छ ।

मतदाताले आक्रोश पनि व्यक्त गरेको बताउँदै थापाले नयाँ नेतृत्वले मात्रै उक्त आक्रोशलाई आशामा बदल्नसक्ने बताए । र, जनतामा आशा ल्याउन आफू तयार रहेको बताए ।

आफूलाई विश्वास गरेर जिताएकोमा सबै मतदातालाई धन्यवाद दिँदै उक्त विश्वासलाई घात नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले शानदार बिजय हासिल गरेका छन् । थापाले २१ हजार ३ सय २ मत ल्याएर बिजयी भएका हुन् । योसहित थापाले काठमाडौं ४ बाट चौथो पटक बिजयी भई ‘ह्याट्रिक’ गरेका हुन् ।

थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । थापाको भन्दा भट्टराईको ७ हजार४ सय ४७ मत कम हो । उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ३ मत खसेको थियो ।


क्लिकमान्डु