उद्योग दर्ता ९० प्रतिशतले घट्यो, एउटै आयोजनामा ६ अर्बको लगानी प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा ९० प्रतिशतले उद्योग दर्ता घटेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष सोही अवधिमा ९० प्रतिशतले उद्योग दर्ता घटेको हो ।

गत वर्षको कात्तिक महिनामा देशभर ३० वटा साना, मझौला र ठूला उद्योग दर्ता गरेका थिए । तर, यो वर्ष कात्तिकमा ३ वटा मात्रै उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ ।

अहिले बजारमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर वृद्धिले उद्योग दर्ता हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका सभापति तथा उद्योग समिति भरत आचार्यले बताए ।

उनकाअनुसार चाडपर्व सकिएपछि मानिसहरुले उद्योग दर्तामा बढी जोड दिन्छन् । तर, यो वर्ष व्यवसायिक आयोजनाका लागि बैंकहरुले कर्जा स्वीकृति गरेका छैनन् भने अर्को तिर ब्याजदर ह्वात्तै बढाएको छ ।

त्यसैगरी, अहिले देश चुनावमय बनेको र नयाँ व्यवसायिक वातावरण नबन्दा उद्योग दर्ता निकै कम भएको हो ।

‘अहिले कर्जा प्रवाहको समस्या मात्रै नभएर बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर अत्याधिक बढाएका छन् । यस्तो अवस्थामा उद्यमी तथा व्यवसायीले कसरी नयाँ उद्योग खोल्छन्,’ उनले प्रश्न गरे ।

साना उद्योगहरु सञ्चालन गर्ने दोस्रो कुरा हो । तर, ठूला तथा मझौला नयाँ उद्योग आउन निकै कठिन भएको उनले बताए ।

विभागअनुसार कात्तिक महिनामा ३ वटा उद्योगले ८ अर्ब ३१ करोड १ लाख ५२ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । गत वर्षको सोही अवधिमा देशभरका व्यवसायी तथा विदेशी लगानीकर्ताले १२ अर्ब ६८ करोड ६५ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका थिए ।

कात्तिकमा विदेशी लगानीमा कुनै पनि उद्योग दर्ता भएको देखिँदैन । तर, कात्तिकमा एउटै आयोजना ६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ ।

दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नम्बर १ मा डायनामिक हाइड्रो ईनर्जी प्रालिले ४० मेगावाटको विद्युत उत्पादन गर्ने जनाएको छ । कम्पनीले जलविद्युत आयोजनाका लागि ५ अर्ब ९१ करोड ६७ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएको हो । आयोजनाबाट ३८ जनाले रोजगारी पाउनेछन् ।

त्यसैगरी, रसुवा जिल्ला, उत्तरगया गाउँपालिकाका माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड आयोजनाले १३ मेगावाटको विद्युत उत्पादन गर्ने गरी लगनाी प्रतिबद्धता जनाएको छ । कम्पनीले आयोजनाका लागि २ अर्ब ३४ करोड ३३ लाख ९१ हजार रुपैयाँ लगानी गर्नेछ । साथै, ४० जनाले रोजगारी पाउनेछन् । विभागअनुसार दर्ता भएको उद्योग स्वदेशी लगानीका छन् ।

त्यसैगरी, कात्तिकमा काठमाडौं जिल्लामा ५ करोड लगानीमा क्युनिभर्स प्रालि उद्योग दर्ता भएको छ । कम्पनीले सफ्टवेयर र वेबपेज डिजाइनको काम गर्नेछ । जसमा १०१ जनाले रोजगारी पाउने तथ्याङ्कमा उल्लेख छ । कम्पनी पूर्णविदेशी लगानीमा सञ्चालन हुनेछ ।


क्लिकमान्डु