आयकर र भ्याटमा भारी गिरावटपछि आन्तरिक राजस्व विभागले उठाउन सकेन लक्ष्य अनुसार कर



काठमाडौं । आन्तरिक राजस्व विभाग लक्ष्य अनुसार कर संकलन गर्न असफल भएको छ ।

चालू आर्थिक वर्षको ४ महिनामा विभागले लक्ष्य भन्दा १२ प्रतिशत कम राजस्व संकलन गरेको हो । कात्तिक मसान्तसम्म १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको विभागले १ खर्ब २४ अर्ब रुपैयाँमात्रै संकलन गरेको छ । जबकी गत वर्ष कात्तिक मसान्तसम्म विभागले १ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो वर्षको ४ महिनामा गत वर्षभन्दा ३ प्रतिशत कम राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि लक्ष्य भन्दा कम राजस्व संकलन गरिरहेको विभागले कात्र्तिकमा पनि लक्ष्य अनुसार राजस्व उठाउन सकेन ।

कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँमात्रै संकलन गरेको छ । कात्तिकमा विभागले लक्ष्य भन्दा २० प्रतिशत कम कर उठाएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा आयकर लक्ष्यको ७८.३० प्रतिशत र मूल्य अभिवृद्धि लक्ष्यको ८२.४ प्रतिशतमात्रै संकलन भएपछि समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

विभागले कात्तिक मसान्तसम्म ४८ अर्ब ९१ करोड रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ३८ अर्ब २९ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यस्तै, ४१ अर्ब ९४ करोड रुपैयाँ मूल्यअभिवृद्धि कर संकलन गर्ने लक्ष्य राखेको विभागले ३४ अर्ब ४७ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।
गत वर्ष ४ महिनामा विभागले ४७ अर्ब २२ करोड रुपैयाँ आयकर र ३५ अर्ब ९७ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन गरेको थियो ।

बजारमा आर्थिक गतिविधिमा घटेकाले सरकारले लक्ष्य अनुसार आयकर र मूल्य अभिवृद्धि कर संकलन नभएको आन्तरिक राजस्व विभागका सुचना अधिकारी राजु प्याकुरेल बताउँछन् ।

यो वर्ष भन्सार विभागले पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कात्र्तिकसम्म २ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार विभागले १ खर्ब २९ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

गत वर्ष लक्ष्यभन्दा कम अन्तःशुल्क संकलन गरेको आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षमा भने लक्ष्यभन्दा १२ प्रतिशत बढी अन्तः शुल्क संकलन गरेको हो । विभागले ३० अर्ब ६५ करोड रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा ३४ अर्ब ६० करोड रुपैयाँ संकलन गरेको छ ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न विभागले गत आर्थिक वर्षमा संकलन गरे भन्दा ३० प्रतिशत बढी रकम संकलन गर्नु पर्छ ।
यो वर्ष बैंक वित्तीय संस्थाको नाफा घट्ने, आर्थिक गतिविधि खुम्चिदै जाने देखिएकाले विभागलाई लक्ष्य अनुसार राजस्व संकलन कठिन हुने अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

नीति निर्माताहरुले बजेटको आकार बढाउँदै चालु खर्च बढाउन कुनै अध्ययन बिना राजस्व लक्ष्य लिँदा भन्सार विभाग र आन्तरिक राजस्व विभाग लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएका हुन् ।

अर्थ मन्त्रालयका सहसचिव चालु आर्थिक वर्षको राजस्व लक्ष्य अचुवाका आधारमा तय भएको स्विकार गर्छन् ।

‘राजस्व सचिव, अर्थ सचिव, अर्थमन्त्री कसैलाई पनि लक्ष्य अनुसार राजस्व संकलन नभएको चिन्ता छैन,’ ती सहसचिव भन्छन्,‘आयात बढ्दा हाम्रो राजस्व बढ्ने हो । आयात प्रतिबन्ध लगाएको अवस्थामा भन्सारको राजस्व ३२ प्रतिशतले बढ्दैन भन्ने प्रष्ट थियो ।’


क्लिकमान्डु