शंकर र सौरभ ग्रुपको संयुक्त लगानी रहेको शुभश्री जगदम्बा सिमेन्टको आम्दानी १४% ले घट्यो



काठमाडौं । शंकर ग्रुप र सौरभ ग्रुपको संयुक्त लगानी रहेको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिको आम्दानी १४ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा १३.५९ प्रतिशतले आम्दानी घटेको हो ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ८७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, सन् २०२२ मा ४ अर्ब २१ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा ४ अर्ब २२ करोड ७० लाख रुपैयाँ, सन् २०१९ मा ५ अर्ब ९० करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ५५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारको तथ्याङ्क हेर्दा कोभिडले गर्दा कम्पनीको आम्दानीमा निकै असर पुगेको देखिन्छ ।

वार्षिक ८ लाख टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता भएको कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

सौरभ ग्रुपको ६० प्रतिशत र शंकर ग्रुपको ४० प्रतिशत सेयर हिस्सा छ । सौरभ ग्रुपले सन् २००१ देखि जगदम्बा सिमेन्ट उत्पादन गर्दै आएको छ भने शंकर ग्रुपले सन् १९९४ देखि जगदम्बा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा उत्पादन क्षमता ४२ प्रतिशतले बढेको जनाएको छ । सन् २०२१ मा कम्पनीको उत्पादन क्षमता ३१ प्रतिशत थियो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब १४ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड ८० लाख रुपैयाँ अर्थात् एलबीबी र अल्पकालीन कर्जाका लागि २ अर्ब ५ करोड अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु