विदेशी व्यवसायिक भिसामा कडाइ, १० वर्षमा ३ खर्ब विदेशी लगानी प्रतिबद्धता गरेकोमा १ खर्ब मात्रै भित्रियो



काठमाडौं । सरकारले विदेशी व्यवसायिक भिसामा कडाइ गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यवसायिक भिसामा कडाइ गरेको हो ।

पछिल्लो समय विदेशीहरुले व्यवसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको विभागको भनाइ छ । उद्योग विभागले केही विदेशीहरुले व्यवसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको पाइएको जनाएको हो ।

नेपाल सरकारले विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा निजको प्रतिनिधिका परिवारका सदस्यलाई विदेशी लगानी स्वीकृत भएपश्चात लगानीको आधारमा उद्योग विभागबाट एकल बिन्दु सेवा केन्द्र (भिसा सहजीकरण इकाई) मा व्यवसायिक भिसा सिफारिस हुँदै आएको छ ।

तर, विदेशीहरुले उक्त व्यवसायिक भिसाकै लगानी स्वीकृत गर्ने र सो पश्चात कम्पनी, उद्योग तथा कर कार्यालयमा दर्तालगायतका कार्य नगर्ने र विदेशी लगानीसमेत नभित्र्याउने गरेको विभागले जनाएको छ ।

विभागले भनेअनुसार नै पछिल्लो १० वर्षको विदेशी लगानीको प्रतिबद्धता र भित्रिएको तथ्याङ्क हेर्ने हो भने स्पष्ट पार्छ । सरकारी तथ्याङ्कअनुसार १० वर्षको अवधिमा वैदेशिक लगानी करिब ३ खर्ब रुपैयाँ प्रतिबद्धता गरेकोमा नेपालमा १ खर्ब मात्रै लगानी भित्रिएको छ ।

आर्थिक वर्ष २०६८/६९ देखि आव २०७७/७८ सम्ममा विभिन्न मुलुकबाट २ खर्ब ९६ अर्ब २२ करोड ८५ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता जनाएको थियो । तर, सो अवधिमा १ खर्ब १४ अर्ब ८४ करोड ५ लाख रुपैयाँ मात्रै भित्रिएको तथ्याङ्क छ ।

समग्रमा हरेक वर्ष प्रतिबद्धताको ५० प्रतिशत लगानी पनि नेपाल भित्रिएको देखिँदैन । १० वर्षमा पनि सोही तथ्याङ्कलाई आधार मान्दा नेपालमा प्रतिबद्धता जनाएको रकमको ३८.७६ प्रतिशत मात्रै लगानी भित्रिएको पाइन्छ ।

राष्ट्र बैंकले गरेको अध्ययनअनुसार नेपालमा आव २०५१/५२ देखि २०७७/७८ सम्ममा ३ खर्ब ५७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएको थियो । त्यसमध्ये १ खर्ब ३० अर्ब ४३ करोड २४ लाख रुपैयाँ मात्रै नेपालमा लगानी भित्रिएको देखाउँछ ।

त्यस्तै, उद्योग विभागअनुसार आर्थिक वर्ष २०७८/७९ को असारमसान्तसम्ममा ४ खर्ब १९ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता जनाए पनि नेपालमा भित्रिने लगानीको अवस्था भने निकै कमजोर देखिन्छ ।

सरकारले हरेक वर्ष वैदेशिक लगानी बढाउनेमा जोड दिँदै आएका छन् । तर, वैदेशिक लगानी भित्र्याउने प्रतिबद्धता जनाएपनि प्रतिबद्धताअनुसार भित्रिन नसकेको विभागको भनाइ छ । साथै, नेपालमा वैदेशिक लगानीबारे के कस्ता शर्त पूरा गर्यो वा गरेन, लगानी आयो वा आएन भन्नेबारे अनुगमन गर्ने संयन्त्र नहुँदा समस्या भोग्दै आएका छन् ।

त्यस्तै, पछिल्ला समय भिसा थप गर्ने तर लगानी नभित्र्याउने प्रवृत्ति बढ्दै गएपछि व्यवसायिक भिसामा कडाइ गरेको छ । व्यवसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकहरु भिसाको उद्देश्य विपरितका गतिविधिमा संलग्नसमेत हुन सक्ने भएकाले विदेशी लगानी र व्यवसायिक भिसा सिफारिस गर्ने कार्यलाई व्यवस्थित र मर्यादित बनाउँदै व्यवसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न कडाइ गरेको छ ।

विभागका विदेशी लगानी शाखा तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले प्रतिबद्धता जनाएअनुसारको विदेशी लगानी नभित्र्एिपछि व्यवसायिक भिसामा कडाइ गरेको बताए । उनकाअनुसार लगानी प्रतिबद्धता जनाएअनुसार उद्योग क्षेत्रमा प्रगति नभएकाले विभागले व्यवसायिक भिसामा शर्तसहित कडाइ गरेको हो ।

‘विदेशी नागरिकहरुले लगानीका लागि उद्योग दर्ता गर्छन । तर, तोकिएको समयअवधिमा उद्योग दर्तादेखि लगानी भित्र्याएको देखिँदैन । साथै, सरकारले तोकेको नियमबमोजिम लगानीको प्रगति गरेको देखिएन । त्यसैले, जिम्मेवार र तोकेबमोजिमको कार्य अगाडि बढाउन विभागले भिसामा कडाइ गरेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

यसअघि विभागले विदेशी लगानी प्रतिबद्धता गरेपछि एक वर्षसम्मका लागि व्यवसायिक भिसा प्रदान गर्दै आएको थियो । सो अवधिमा कम्पनी दर्ता वा भएन भन्नेबारे जानकारी लिँदा विभिन्न कारण देखाउँदै व्यवसायिक भिसा थप गर्दै आएका थिए । तर, आगामी दिनमा तोकेको शर्त पूरा नभए भिसा थप नहुने उनको भनाइ छ ।

‘इमान्दार लगानीकर्तालाई भिसा दिन कहिले पनि समस्या हुँदैन,’ उनले भने, ‘जसले काम नगर्ने भिसा मात्रै थप्ने कार्य गरिरहेका छन् । ती विदेशी नागरिकको व्यवसायिक भिसामा कडाइ गरेको हो ।’

विभागले अबदेखि विदेशी लगानी स्वीकृत भएपश्चात पहिलो पटक ३ महिनाको लागि व्यवसायिक भिसा सिफारिस गर्दा आगामी पटक आवेदन गर्दा अनिवार्य रुपमा कम्पनी दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने शर्त राखी सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कम्पनी दर्ताको प्रमाणपत्र पेश भएमा थप ३ महिनाको व्यवसायिक भिसा दिनेछ । आगामी पटक आवेदन गर्दा कर कार्यालय दर्ता गरेको, बैंक खाता खोलेको र उद्योग दर्ता गरेको वा उद्योग दर्ताको लागि आवेदन दर्ता गरेको प्रगति विवरण पेश गर्ने शर्त राखी भिसा सिफारिस गर्ने निर्णय गरेको छ ।

उद्योग दर्ता प्रमाणपत्र पेश भएमा थप ६ महिनाको भिसा सिफारिस गर्ने वा उद्योग दर्ताको सम्बन्धमा भएको प्रगति विवरण सन्तोषजनक भएमा थप ३ महिनाको लागि व्यवसायिक भिसा सिफारिस गर्ने व्यवस्था गरेको छ । सो अवधिमा उद्योग दर्ता गरी विदेशी लगानी प्रक्रिया शुरु गर्नुपर्ने शर्त राखी भिसा सिफारिस गर्ने भएको छ ।

विदेशी लगानी स्वीकृति लिई लगानीकर्ताकै रुपमा व्यवसायिक भिसामा बसी साविकको भिसा सिफारिस गर्दाको शर्त पूरा नगरी पुनः नयाँ विदेशी लगानी स्वीकृतिको लागि आवेदन गरेमा निजको विदेशी लगानी स्वीकृत गरिनेछ । तर, प्रस्तावित विदेशी लगानी नभित्र्याएसम्म स्वीकृत नयाँ विदेशी लगानीको आधारमा पुनः व्यवसायिक भिसा सिफारिस नगरिने विभागले निर्णय गरेको छ ।

त्यसपछिका हकमा समयको हकमा विदेशी लगानी तथा हस्तान्तरण नियमावली, २०७७ को नियम ९ बमोजिमको लगानी भित्र्याएपछि मात्र थप व्यवसायकि भिसा दिनेछ ।

साथै, यसअघि व्यवसायिक भिसा लिई भिसाको अवधि थप गर्नका लागि आवेदन गर्नेहरुको हकमासमेत तोकेको प्रावधानअनुसारका शर्तहरु राखी सामञ्जस्यता कायम गरिने विभागले जनाएको छ ।

१० वर्षमा गरेको लगानी प्रतिबद्धता र भित्रिएको रकम

नेपालले पछिल्ला १० वर्षमा मात्रै ३ खर्ब बराबरको लगानी प्रतिबद्धता जनाएको छ । आर्थिक वर्ष २०६८/६९ मा विश्वका विभिन्न देशबाट नेपालमा २२६ वटा उद्योग दर्ता गरी ७ अर्ब १३ करोड ८३ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तर, सो वर्ष ९ अर्ब १९ करोड ५४ लाख रुपैयाँ लगानी भित्रिएको देखिन्छ ।

आव २०६९/७० मा ३१७ उद्योग दर्ता गरी १९ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको थियो । त्यसमध्ये सो वर्ष ९ अर्ब ८ करोड १९ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको छ ।

आव २०७०/७१ मा ३०७ उद्योग दर्ता गरी २० अर्ब १३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएकोमा ३ अब १९ करोड ४६ लाख रुपैयाँ भित्रिएको थियो । सो वर्ष २०७ वटा उद्योग दर्ता भएको थियो ।

त्यस्तै, आव २०७१/७२ मा ६८ अर्ब ४५ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाउँदा ४ अर्ब ३८ करोड २६ लाख रुपैयाँ भित्रिए, आव २०७१/७३ मा १५ अर्ब २५ करोड ४३ लाख प्रतिबद्धता गरेकोमा ५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ भित्रिए, आव २०७३/७४ मा १५ अर्ब २० करोड ६४ लाख रुपैयाँ प्रतिबद्धता जनाएकोमा १३ अर्ब ५० करोड ३९ लाख रुपैयाँ भित्रिए र आव २०७४/७५ मा ५५ अर्ब ७६ करोड ४ लाख प्रतिबद्धता जनाएकोमा १७ अर्ब ५० करोड ४६ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।

त्यसैगरी, २०७५/७६ मा २५ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता गरेकोमा १३ अर्ब ६ करोड ५२ लाख रुपैयाँ भित्रिए, आव २०७६/७७ मा ३७ अर्ब ८० करोड ५८ लाख रुपैयाँ प्रतिबद्धता जनाउँदा १९ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ भित्रिए र आव २०७७/७८ मा ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएकोमा १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ ।

साथै, २०७८/७९ मा ५४ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । सो वर्षको हालसम्म कति लगानी भित्रिए भन्नेबारे तथ्याङ्क आइनसकेको विभागले जनाएको छ ।


अरिष्मा मोक्तान