पेट्रोलियम पदार्थको विकल्प ग्रीन हाइड्रोजन, नेपालमा सम्भव छ उत्पादन ?



काठमाडौं । गत शुक्रबार ‘नाडा ईभी अटो शो’मा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए । अबको सयम ग्रीन हाइड्रोजनको भएको उनको भनाइ थियो ।

‘अबको समय भनेको ग्रीन हाइड्रोजनको समय हो । हामी त्यतातिर पस्नुपर्ने भएकाले व्यावसायीले पनि त्यसतर्फ सोच्न आवश्यक छ’, अर्थमन्त्री शर्माले भनेका थिए ।

शर्माले हाललाई विद्युतिय गाडीको चर्चा भइरहँदा हाइड्रोजनबाट चल्ने गाडीको बारेमा पनि सोच्नुपर्ने बताएका थिए । विश्वभरकै ध्यान त्यसतर्फ गइरहेकाले व्यावसायिक रुपमा यसको उत्पादन कसरी गर्ने भन्ने विषयमा सोच्न आवश्यक रहेको अर्थमन्त्री शर्माको सुझाव थियो ।

अर्थमन्त्री शर्माले इंकित गरेको ग्रीन हाइड्रोजन र त्यसको नेपालको उत्पादनको चर्चा अहिले मात्रै भइरहेको होइन । कोरोना महामारीको सुरुवात भएको वर्ष अर्थात् २०२० देखि नै नेपालमा यो विषय चर्चामा छ । उर्जा मन्त्रालयअन्तर्गत दुईवटा समितिहरु यसैका निम्ति बनाइएका पनि छन् ।

अर्थमन्त्री शर्माले भनेजस्तै नेपालमा व्यावसायिक रुपमा ग्रीन हाइड्रोजनको उत्पादन सम्भव छ ?

काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याबका नेतृत्व गरिरहेका सह–प्राध्यापक विराज सिंह थापा यो सम्भव रहेको बताउँछन् ।

‘सम्भव छ,’ उनी भन्छन्, ‘नीति नियम बन्ने र लगानी आउने हो भने नेपालमा व्यावसायिक रुपमै ग्रीन हाइड्रोजनको उत्पादन गर्न सकिन्छ ।’

थापा हाइड्रोजनको उत्पादनका लागि नीति नियमदेखि लगानी मुख्य विषय भएको बताउँछन् । जैविक इन्धनको तुलनामा ग्रीन हाइड्रोजनको उत्पादनका लागि उच्च प्राथमिकता आवश्यक भएकाले राजनीतिक ब्याकअप चाहिने उनी बताउँछन् ।

विराज सिंह थापा


‘उर्जाको इकोसिस्टममा फोसिल फ्युल भनेको झारपातजस्तो हो,’ थापा भन्छन्, ‘यो आफैं उम्रिन्छ । तर, त्यसका अरु परिणामहरु हुन्छन् । ग्रीन हाइड्रोजन भनेको बासमती चामलजस्तो हो । यसका लागि मिहेनत पनि पर्छ र उत्पादन भएपछि महत्त्वपूर्ण पनि हुन्छ । त्यसका लागि राजनीतिक पक्षदेखि लगानी गर्ने पाटो पनि मुख्य हुन्छ ।’

फोसिल फ्युलसँग तुलना गरेर सोही अनुपातमा ग्रीन हाइड्रोजनको उपलब्धता हुने अपेक्षा गर्न नहुने थापाको तर्क छ ।

डिजेल तथा पेट्रोलजस्ता जैविक इन्धनकै मूल्य तथा स्तरमा ग्रीन हाइड्रोजनको अपेक्षा गर्न हुँदैन ।

थापा भन्छन्, ‘अहिलेसम्म जैविक इन्धनमै चलिआयौं । हामीलाई त्यहि चाहिएको हो भने त्यसैमा काम गरौं । तर, यो अति भएको छ । अर्को पुस्तालाई यसले असर गरिरहेको छ । आगामी पुस्ताको सहजता र सुनिश्चितताका लागि पनि अब उर्जाको स्वरुप र पाटो फेर्नुपर्छ ।’

हाललाई ग्रीन हाइड्रोजनको उपलब्धता कम र मूल्य धेरै हुने देखिन्छ । तर, विकासोन्मुख प्रविधि तथा पूर्वाधारका कारण यो पनि विस्तारै सस्तो र सहज हुँदै जाने देखिन्छ । हिजो सोलर पावरको सुरुवाती अवस्था जस्तै अहिले ग्रीन हाइड्रोजनको अवस्था छ।

जसकारण समयसँगै प्रविधि र पूर्वाधारको विकासले यसलाई पनि सहज रुपमा उपलब्ध हुने र सस्तो मूल्यमा पाइने अवस्था बनाउने देखिन्छ । तर, त्यसका लागि पनि आवश्यक प्रविधि, पूर्वाधार र जनशक्तिमा राज्य तथा लगानीकर्ताको ध्यान जानुपर्ने देखिन्छ ।

‘पछिल्लो समय सबैभन्दा धेरै मूल्य घटेको उर्जाको स्रोत सोलर पावर हो,’ थापा भन्छन्, ‘यसमा ८० प्रतिशतसम्म मूल्य घटेको छ । अब ग्रीन हाइड्रोजन त्यस्तै वस्तुको रुपमा देखिएको छ । ग्रीन हाइड्रोजन पनि अहिले महंगो लाग्छ, तर यसमा पनि लगानी हुँदै जाँदा यो सुलभ र सहज हुन्छ ।’

नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन

अहिले विश्वभरमै ग्रीन हाइड्रोजनप्रतिको लगाव बढ्दै गएको छ । विभिन्न देशले करौडौं रकम यसमा लगानी गरिरहेका छन् । सन्दर्भका लागि साउदी अरेबियाले ४ हजार मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गरेको छ । त्यस्तै, युएईमा २५ हजार र ओमनमा ३० हजार मेघावाटको हाइड्रोजन प्लान्ट स्थापना भएका छन् । अमेरिकाले ७ बिलियन अमेरिकी डलर र भारतले १.३ ट्रिलियन अमेरिकी डलर बराबरको रकम ग्रीन हाइड्रोजनको क्षेत्रमा लगानी गरेको छ ।

वैकल्पिक उर्जा स्रोत र शून्य कार्बोन उर्जा स्रोतका रुपमा रहेकाले पनि ग्रीन हाइड्रोजनप्रति विभिन्न देशहरुले यो क्षेत्रमा करोडौं रकम छुट्याएका छन् ।

थापा भन्छन्, ‘साउदी अरेबियाजस्ता देशले भोलि तेल बिक्दैन, हाइड्रोजन बिक्छ भन्ने बुझेका छन् । त्यसैले अहिले त्यो क्षेत्रमा उनीहरुको लगानी बढिरहेको छ ।’

अन्य देशमा जस्तै नेपालमा ग्रीन हाइड्रोजनको विषयमाथिको विमर्श र अनुसन्धानको काम सुरु भएको केही वर्ष भइसकेको छ ।भारतसँगको तुलनामा नेपालमा केही अगाडि नै सार्वजनिक सञ्चारमाध्यम तथा सार्वजनिक वृतमा यो विषयमा विचार विमर्शको काम सुरु भएको बताउँछन्, थापा ।

तर, राज्यसँग निश्चित नीति नहुनु र लगानीको पक्षबाट पनि कानुनको अभावले बाटो नखुल्दा ग्रीन हाइड्रोजनको उत्पादनको पक्षमा भने नेपाल पुग्न सकेको छैन ।

हाल काठमाडौं विश्वविद्यालयमा मात्रै ग्रीन हाइड्रोजनसँग सम्बन्धित अनुसन्धान भइरहेको छ । विश्वविद्यालयमा सञ्चालनमा रहेको प्रयोगशालामा थापाकै नेतृत्वमा अनुसन्धानकोे काम भइरहेको छ ।

विश्वमा ग्रीन हाइड्रोजनमाथि अनुसन्धान मात्रै नभएर उत्पादनकै पक्षसम्म पनि काम भइरहेका छन् । थापा विभिन्न देशमा पाँच केजी हाइड्रोजनको प्रयोगबाट १३ सय किमि कुद्ने गाडीहरु पनि उपलब्ध भएको बताउँछन् ।

अहिले यो सुलभ अवस्थामा छैन । तर, प्रविधि विस्तारै परिवर्तन हुँदै गएकाले यसलाई समाजले स्वीकार गर्दै गएमा भोलिका लागि प्रमुख इन्धनको स्रोत र नविकरणीय उर्जाको प्रमुख माध्यम ग्रीन हाइड्रोजन बन्ने अवस्था छ ।

‘विश्वमा अहिले यो क्षेत्रमा करोडौं लगानी गरेर अध्ययन अनुसन्धान भइरहेको छ,’ थापा भन्छन्, ‘हामी अरु देशले गर्छन् । अरु ठाउँमा विकास हुन्छ । त्यसपछि नेपालमा गरौंला भनेर कुरेर बस्ने अवस्था छैन । नेपालमा हाइड्रोजन उत्पादनको सम्भावना छ । उत्पादनका लागि विद्युत आवश्यक कुरा हो, नेपालमा उपलब्ध छ । त्यसकारण, अहिले बाटै त्यो पाटोमा सोच्नुपर्छ ।’

थापाकाअनुसार अहिले एउटा हाइड्रोजन प्लान्ट राख्दा कति हाइड्रोजन उत्पादन गर्न सकिन्छ भन्ने पाटो नेपालका लागि प्रयोगात्मक रुपमा भएको छैन ।

सैद्धान्तिक रुपमा भने यसमा विश्वविद्यालयले काम गरिरहेको छ । किलोवाट आवरको प्रणालीमा १ किलोवाट हाइड्रोजन उत्पादन गर्दा ४ सयदेखि ५ सय डलर खर्च हुन जान्छ ।

हाल जलविद्युतमा १५ सयदेखि २ हजार डलर प्रति किलोवाट खर्च भइरहेको अवस्था छ । जलविद्युतमा अहिले सस्तोमा १५ करोडको एक मेघावाटको अवस्था छ भने महंगोमा २३ करोडसम्म खर्च हुने अवस्था रहेको छ ।

नेपालमा हाइड्रोपावर प्लान्ट पहिल्यै भएका कारण अब हाइड्रोजन पनि उत्पादन गर्ने हो भने प्रति मेघावाट ८ देखि ९ करोड रकम पर्ने अनुमान गरिएको छ ।

पर्याप्त लगानी भएको र नीति नियम भएको अवस्थामा दुई देखि तीन वर्षमा एउटा हाइड्रोजन प्लान्ट स्थापना गर्न सकिने अवस्था देखिएको बताउँछन् थापा ।

यसरी निर्माण गरिएको हाइड्रोजन प्लान्टलाई सञ्चालन गरिरहँदा वर्षेनी मेसिनमा भएको लगानीको पाँच प्रतिशतसम्म मर्मत खर्च तथा सञ्चालन खर्च हुन्छ । सँगै हाल विश्व बजारमा उपलब्ध प्रविधिअनुसार यस्ता मेसिनले २० वर्षसम्म उत्पादनलाई साथ दिन सक्छन् ।

हाइड्रोजनको उत्पादन गर्न नेपालमा नीतिकै अभाव

अर्थमन्त्री शर्माले गत शुक्रबार नेपालमा हाइड्रोजनको उत्पादन तथा यसको प्रयोगबाट चल्ने साधनहरुमा विशेष ध्यान दिने बताएका थिए । सँगै नीजि क्षेत्रलाई पनि यसतर्फ केन्द्रित हुन बताएका थिए ।

थापाकाअनुसार नेपालमा हाइड्रोजनको उत्पादनको विषयलाई लिएर सरकारी पक्षदेखि नीजि क्षेत्र पनि उत्साहित र सकरात्मक छन् । तर, तत्काललाई भने नेपालमा यसका लागि नीतिको अभाव छ ।

नेपालमा हाइड्रोजनलाई इन्धनको रुपमा राखिएको छैन । यसलाई हाल इन्धनको रुपमा प्रयोग गरिएमा त्यसलाई गैर कानुनी मानिन्छ । सँगै हाइड्रोजनबाट चल्ने गाडीहरु नेपालमा कुदाउन पाउने व्यवसथा पनि छैन् । त्यसकारण नेपालमा पहिले नीति निर्माण गरेर यो क्षेत्रमा तीव्र रुपमा काम गर्नुपर्ने अवस्था छ ।

‘हामी रोकिएको कारण नीति हो,’ उनी भन्छन्, ‘नेपालमा हाइड्रोजनलाई नीतिगत रुपमा इन्धनका रुपमा प्रयोग गर्ने, हाइड्रोजन गाडी कुदाउनेजस्ता नीति हरु छैनन् । नीतिहरु निर्माण हुने हो भने काम हुन्छ । पहिले हामीसँग नीति बन्न आवश्यक छ । नीतिकै अभावमा काम हुन सक्दैन् ।’

हाइड्रोजन उर्जालाई विभिन्न क्षेत्रसम्म पुर्याउने साधनको रुपमा रहेको बताउँछन् थापा । प्रविधिको सुलभ उपलब्धता नहुँदा अहिले यो केही महंगो पर्ने देखिएतापनि विस्तारै यसमा परिवर्तन हुँदै जाने बताउँछन् उनी । भन्छन्, ‘नविकरणीय उर्जालाई एक ठाउँबाट अर्को ठाउँमा लैजानका लागि हाइड्रोजन उपाय हो ।’

नेपालमा हाइड्रोजनको उत्पादनका लागि चाहिने प्रमुख कुरा प्राथमिक उर्जाको स्रोत हो । हाइड्रोजन आफैंमा प्राथमिक उर्जा भने होइन् ।

थापाकाअनुसार नेपालमा नविकरणिय उर्जाका रुपमा अथेष्ट मात्रामा जलविद्युत छ । जसकारण जलविद्युतको प्राथमिक उर्जालाई जैविक इन्धनको विकल्पका रुपमा हाइड्रोजनको माध्यमबाट कसरी प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।

‘हामीले देखेको नेपालका लागि हाइड्रोजन शुन्य कार्बोनमा जाने माध्यमसँगै खर्बौं रुपैयाँको जैविक इन्धनको विकल्प बन्ने उर्जा हो,’ थापा भन्छन्, ‘जैविक इन्धनमा देशको जिडिपीको १० प्रतिशत रकम गइरहेको छ । पेट्रोलजस्ता जैविक इन्धन नेपालका लागि राजनीतिक विषय हो । देशको सत्ता परिवर्तन गर्ने सम्मको ल्याकत पेट्रोलको आयातसँग छ । देश स्वतन्त्र राज्य हो भने उर्जामा पनि स्वतन्त्र हुन आवश्यक छ । र त्यसका लागि प्रमुख विकल्प हाइड्रोजन बन्न सक्छ ।’

नेपालमा अहिले हाइड्रोजनको उत्पादनतर्फ नसोच्ने हो भने भोली यो पनि जैविक इन्धनजस्तै वस्तु बन्न सक्छ । उदाहरणका लागि भारतमा टाटाले हाइड्रोजनको बस निकालेमा नेपालमा पनि त्यस्ता साधनहरुको आयात हुन जान्छ ।

त्यस्तो अवस्थामा नेपालमै हाइड्रोजनको उत्पादन छैन भने हामीले त्यसलाई विदेशबाट आयात गर्नुपर्ने हुन्छ । जसकारण आज पेट्रोलका लागि जसरी अरुमाथि निर्भर हुनुपरेको छ, भोली हाइड्रोजनका लागि पनि हुनुपर्ने अवस्था आउन सक्छ । थापा भन्छन्, ‘ढिलो वा चाडो हुने मात्रै हो । तर, भोली यस्तो अवस्था आउँछ । त्यसका लागि अहिल्यैबाट हाइड्रोजनको उत्पादनको विषयमा केन्द्रित हुन आवश्यक छ ।’

हाल काठमाडौं विश्वविद्यालयले गरिरहेको अनुसन्धनमा हाइड्रोजनको उत्पादन गर्ने मोडल धेरै महंगो छैन् । थापा विजुली खेर फाल्नुभन्दा हाइड्रोजन निकाल्न सकिने बताउँछन् ।

‘हाइड्रोजन उत्पादनको पक्षमा नमुना प्रयासहरु गर्न सकिन्छ,’ उनी भन्छन्, ‘विश्वविद्यालयले प्रविधि देखाउने, वकालत गर्ने र समाधान देखाउने हो । यसमा यहाँका उद्योग, लगानीकर्ता र राज्यले चासो राख्नुपर्छ । त्यो भएमा नेपालमा सहज रुपमा हाइड्रोजनको उत्पादन गर्न सकिन्छ ।’

राज्यको तर्फबाट उद्योग खोल्ने, लगानी सुनिश्चित गर्ने पाटोमा जानुपर्ने बताउँछन् उनी । सर्वसाधारणले पनि हाइड्रोजनले जैैविक इन्धनलेजस्तो वातावरणमा क्षति पुग्दैन र भोलीको पुस्ताका लागि सहज अवस्था सिर्जना गर्छ भन्ने सोचको विकास गर्नमा राज्यले वकालत गर्नुपर्ने उनको तर्क छ ।

‘केही रकम बढि नै किन नहोस हाइड्रोजनबाट चल्ने गाडीमा चढ्न थाल्ने हो भने विस्तारै यसमा हामी अब्बल हुन सक्छौं’, उनी भन्छन्, ‘राज्य, लगानीकर्ता र सर्वसाधारण तीन वटै तहबाट यसमा काम गर्नुपर्छ । त्यो गर्नका लागि आवश्यक बाटो भनेको वकालत गर्ने नै हो । विश्वविद्यालयले त्यसका लागि काम गरिरहेको छ ।’

थापाकाअनुसार हाइड्रोजनको उत्पादन हुने पावर प्लान्ट बनाउनु भनेको जलविद्युतको आयोजनाजस्तो होइन् । ड्याम बनाउनेजस्ता कठिन कामहरु यसमा हुँदैनन् । यसका लागि प्रमुख कुरा विजुली उपलब्ध हुनु हो । विजुली छ भने त्यसलाई सहजै जोडेर हाइड्रोजनको उत्पादन गर्न सकिन्छ ।

‘केही कठिन छ, तर अन्य प्लान्टको जस्तो धेरै असहज र धेरै कठिन भने होइन्,’ उनी भन्छन्, ‘यसका लागि आवश्यक प्रविधि र मेसिन चाहिन्छ । त्यो मेसिन बन्न समय लाग्ला । तर, मेसिन भएमा सजिल्यै प्लान्ट बनाउन सकिन्छ । डेढ वर्षको समयमा कमर्सियल उत्पादन हुने गरि हाइड्रोजनको प्लान्ट राख्न सकिन्छ ।’

आवश्यक लगानी हुने, उद्योग स्थापना हुने र हाइड्रोजनको उत्पादन हुने हो भने वर्षेनी २ प्रतिशत गर्दै हामी जैविक इन्धनबाट चल्ने सवारी साधनहरु हाइड्रोजनतर्फ जाने अवस्था रहेको छ ।

उनकाअनुसार यो वर्ष २ प्रतिशत भयो भने अर्को वर्ष ४ प्रतिशत हुँदै सोही क्रमअनुसार हाइड्रोजनले जैविक इन्धन (पेट्रोल, डिजेल लगायत)लाई प्रतिस्थापन गर्दै लैजान्छ ।

उनी भन्छन्, ‘१५ वर्षमा ३० प्रतिशत पेट्रोल तथा डिजेल प्रतिस्थापन हुने हामीले देखेका छौं । त्यसो भएमा वर्षको ७०/८० अर्ब रकम बाहिरिदैन् । एकैपटक धेरै सोच्नु पनि हुँदैन् । लक्ष्य लिएर हिँड्नु पर्छ । वर्षमा २ प्रतिशतको दरले बढाउँदै लैजाने सोच्नुपर्छ ।’

नेपालमा वातावरण परिवर्तनको क्षेत्रमा आइरहेका अनुदानको रकमहरुलाई यसमा प्रयोग गर्न सकिने अवस्था रहेको छ । थापाकाअनुसार अनुदानमा आउने रकमदेखि नीजि क्षेत्रको लगानीले हाइड्रोजनको उत्पादनको क्षेत्रमा सहायता दिन्छ ।

वैकल्पिक उर्जाको रुपमा यसलाई लगेर सफल हुने किसिमले अघि बढाउने हो भने यसमा सर्वसाधारणले पनि लगानी गर्ने आवश्यक रहेको उनी बताउँछन् । भन्छन्, ‘योजना बनाउने हो भने यो सम्भव छ । सरकारले यसो गरेन भने नीजि क्षेत्रले गर्छ । नीजि क्षेत्रले पनि गरेन भने वैदेशिक लगानी आएर यसमा गर्छ ।’

अहिले भइरहेको सवारी साधनलाई हाइड्रोजनबाट चल्ने बनाउने भन्दा पनि नयाँ साधनलाई हाइड्रोजन केन्द्रित बनाउँदा धेरै लाभदायी हुने अवस्था छ ।

अब निश्चित समयदेखि हाइड्रोजनबाट चल्ने साधन मात्रै किन्न पाउने नीति नियम आउने हो भने त्यो लाभदायी हुने थापाको तर्क छ । पुरानालाई परिवर्तन गर्नुभन्दा नयाँमा लगानी गर्दा सुरक्षित हुने उनी बताउँछन् ।

पेट्रोलका गाडीहरुमाथि कर बढाउने र हाइड्रोजनबाट चल्ने गाडीहरुलाई कर छुटलगायतका सुविधा दिनेजस्ता काम सरकारबाट हुनुपर्ने देखिएको छ ।

‘अमेरिकामा ५० हजारको गाडी किन्दा ३० हजार हाइड्रोजन कार भएकाले फिर्ता हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा पनि यस्ता कुराहरु ख्याल गरिनुपर्छ । राम्रो र व्यवस्थित नीति बनाउनुपर्छ ।’

कसरी बन्छ हाइड्रोजन र केमा हुन्छ प्रयोग ?

नेपालमा अनुसन्धान भइरहेको हाइड्रोजनको उत्पादनका लागि प्रमुख विधि भनेको ‘वाटर इलेक्ट्रोलाइसिस’ विधी हो । पानी रसायनिक रुपमा हाइड्रोजन र अक्सिजन मिसिएर बनेको हुन्छ ।

यसलाई इलेक्टोलाइसिस पद्धतीबाट हाइड्रोजन छुट्याएर यसलाई उर्जाको स्रोतका रुपमा प्रयोग गरिन्छ । यसका लागि इलेक्ट्रोलाइजरको प्रयोग गरिन्छ ।

यसरी निकालिएको हाइड्रोजनलाई स्टोरेज ट्याकमा राखिन्छ । सवारी साधनमा राखिएको हाइड्रोजनलाई फ्युल सेलमा पठाएपछि वातावरणमा हुने अक्सिजनसँग हुने केमिकल रिएक्सनमार्फत पानी र उर्जा बाइप्रोडक्टका रुपमा निस्किन्छ । यसरी निस्किएको उर्जा नै विभिन्न क्षेत्रमा प्रयोग हुने हो ।

हाइड्रोजन आफैंमा उर्जा नभएर यो उर्जाको स्रोत हो । हाइड्रोजनले उर्जालाई एउटा स्रोतबाट बोकेर अर्को क्षेत्रसम्म पुर्याउने काम गर्छ ।

जसकारण जलविद्युतबाट निकालिएको हाइड्रोजनको प्रयोग पुनः गरेर अन्य किसिमका उर्जाहरु निकाल्न सकिन्छ । नेपालको सन्दर्भमा बेलाबखत उत्पादन हुने धेरै जलविद्युतलाई हाइड्रोजनको उत्पादनमा लगाउने हो भने त्यसलाई कालान्तरमा पुनः उर्जाको स्रोतकै रुपमा प्रयोग गर्न सकिन्छ ।

उत्पादन भएको हाइड्रोजनलाई स्टोरेज ट्यांकमा राखेपछि तयसलाई डिस्पेन्सरमार्फत सवारी साधनमा राख्न सकिन्छ । सवारी साधनमा भएको हाइड्रोजन ट्यांकबाट फ्युल सेलमा पठाएपछि रियाक्सन भएर उर्जा उत्पादन हुने गर्छ ।

हालको अवस्थामा २.३ लिटर डिजेलले गाडी चल्नसक्ने दुरीलाई १ किलो हाइड्रोजनले पुरा गर्न सक्ने प्रारम्भिक अवस्था देखिएको छ । तर, यसमा गाडीको माइलेजदेखि अन्य कुराहरुले प्रभाव पार्न सक्छन् । १ केजि हाइड्रोजनको उत्पादनका लागि सैद्धान्तिक रुपमा ५० किलोवाट विद्युत प्रयोग हुने देखिन्छ ।

त्यसबाहेक हाइड्रोजनको प्रयोग औद्योगिक उर्जाका रुपमा हुन सक्छ । हाइड्रोजनलाई पुनः विद्युतियकरण गरेर घरायसी उपकरणहरुको सञ्चालनमा पनि प्रयोग गर्न सकिन्छ । सँगै माइनिङय र स्टिलको क्षेत्रमा पनि हाइड्रोजनको अत्याधिक प्रयोग हुन्छ ।

यस बाहेक उत्पादित हाइड्रोजनलाई खाना पकाउने ग्यासका रुपमा पनि प्रयोग अवस्थामा लैजान सकिन्छ । काठमाडौं विश्वविद्यालयमा पनि यो विषयमा अनुसन्धान भइरहेको छ । सिन्थेटिक नेचुरल ग्यास’का रुपमा हाइड्रोजनलाई प्रयोग गरेर खाना पकाउनका लागि प्रयोग भइरहेका अन्य किसिमका उर्जालाई पनि प्रतिस्थापन गर्न सकिन्छ ।

र्बोनडाइअक्साइडसँग हाइड्रोजनलाई रसायनिक प्रतिक्रिया गराएर बन्ने सिन्थेटिक नेचुरल ग्यासलाई मिथेनजस्तै खाना पकाउने काममा प्रयोग गर्न सकिन्छ ।


युवराज भट्टराई