तीन वर्षयता कै उच्च वैदेशिक लगानीको प्रतिबद्धता, चीनबाट मात्रै ३७ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षमा तीन वर्षयता कै सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता आएको छ । मुलुकमा डलर सञ्चितिको समस्या बढिरहेका बेला विदेशी लगानीको प्रतिवद्धता भने वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तुलनामा झन्डै ५० प्रतिशतले लगानीको प्रतिवद्धता वृद्धि हुँदै ४८ अर्ब रुपैयाँभन्दा माथि लागेको छ । अधिकांश लगानी सेवा क्षेत्र र पर्यटन क्षेत्रमा आएको छ ।

वैदेशिक लगानी स्वीकृत गर्ने उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा (असार २८ गतेसम्म)सम्म ४८ अर्ब २ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । यो गत आर्थिक वर्षको भन्दा ४९.७२ प्रतिशतले बढी हो । गत वर्ष ३२ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो । त्यसअघिको वर्ष २०७५/७६ मा २५ अर्ब ४८ करोड रुपैयाँको प्रतिवद्धता थियो । त्यसअघिको वर्ष २०७४/७५ मा भने ५५ अर्ब ७६ करोडको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धा आएको थियो ।

त्यसयता एफडीआई घटदै गएको थियो । पछिल्लो दु्ई वर्षमा विश्वभरी कोरोना संक्रमण फैलिएकाले पनि विदेशी लगानीमा असर गरेको थियो । चालु आर्थिक वर्षमा कोरोना संक्रमण घट्दै गएपछि प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता पनि बढेको छ ।

चालु आर्थिक वर्षमा ४८ अर्ब लगानी गरेर २६० वटा परियोजना सञ्चालन गर्ने प्रतिवद्धता आएको छ । जुन परियोजनामा १५ हजारले रोजगारी पाउने उल्लेख गरिएको छ ।

२६० परियोजनामध्ये ४ वटा ठूला, ५८ मध्यमस्तर १९८ साना परियोजना छन् । यीमध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा ८८ परियोजनाको लागि २२ अर्ब ८ करोड रुपैयाँ बराबरको लगाीको प्रतिवद्धता आएको छ । यी परियोजनामा ४ हजार ४ सय ८८ जनाले रोजगारी पाउने उल्लेख छ ।

त्यसपछि, पर्यटन क्षेत्रमा १०६ वटा परियोजनाका लागि १६ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । जहाँ ५ हजार ७ सय ८५ जनालाई रोजगारी दिने प्रतिवद्धता आएको छ ।

उत्पादनमूलक उद्योगमा ६ अर्ब ९६ करोड लगानी गरेर ४७ परियोजना सञ्चालन गर्ने प्रतिवद्धता छ । जहाँ ३ हजारभन्दा धेरैले रोजगारीको अवसर पाउनेछन् ।

पूर्वधारमा ७ परियोजनाको लागि १ अर्ब ४० करोड, आइसीटीमा आधारित उद्योगमा ४७ करोड, उर्जामा १ परियोजनामा ५ करोड ६२ लाख र कृषि र वनजन्य उद्योगमा ६० करोडको लगानीमा ४ परियोजना सञ्चालनका लागि लागनीको प्रतिवद्धता आएको छ ।

लगानीको प्रतिवद्धता आएको परियोजनामध्ये अधिकांस चीनबाट आएका छन् ।

चीनबाट २०३ वटा परियोजनाको लागि ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ ।

दोस्रोमा रहेको भारतबाट १२ वटा परियोजना २ अर्ब ४८ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । त्यसपछि अमेरिकाबाट १२, बेलायतबाट ५, इटालीबाट ५ र अष्ट्रेलियाबाट ४ वटा परियोजनाको लागि लगानीको प्रतिवद्धता आएको छ ।

चालु आर्थिक वर्षमा २१ देशबाट लगानी गर्ने भनेर परियोजना दर्ता गराएका छन् ।


क्लिकमान्डु