बर्दियामा रागाँभैसीको मासु प्रोसेसिङ उद्योग स्थापना हुने, चीनबाट आयो १५ करोड लगानी



काठमाडौं । नेपालमा विदेशी लगानीको क्षेत्रको दायरा वृद्धि हुँदै गएको छ ।

पयर्टन, होटल, विभिन्न उद्योगका लागि विदेशी लगानी आइरहेको बेला नेपालमा मासु पसल सञ्चालन र मासु उत्पादन उद्योग सञ्चालन गर्न १५ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा स्लटर हाउस एण्ड मिट प्रोसेसिङ इन्ड्रष्ट्री सञ्जाल गर्न भन्दै उक्त लगानी ल्याउने प्रतिवद्धता आएको छ ।

चीनबाट आउने उक्त लगानीबाट बर्दियामा मासु पसल र मासु उत्पादन उद्योग सञ्चालन गर्ने भनिएको छ । यस उद्योगबाट राँगा, भैसीको फ्रोजन मिट र ड्राइ मिट उत्पादन गरिनेछ ।

यस उद्योगमा ६५ जनाले रोजगारी पाउने र ७०० केभीए विद्युत् खपत हुने भनिएको छ ।

चीन मासु निर्यातका लागि ठूलो सम्भावना भएको देश मानिन्छ ।

नेपालमा मासु उत्पादन गरेर निर्यात गर्न सकिने भन्दै व्यवसायीहरुले पहिलेदेखि औंल्याउँदै आएका छन् ।

नेपालबाट अहिले निकै सानो मात्रामा मासु निर्यात भइरहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा १ करोड ३२ लाख रुपैयाँको १ लाख ९५ हजार केजी फ्रोजन मिट निर्यात भएको थियो । उक्त मासु भियतनाममा निर्यात भएको थियो ।


क्लिकमान्डु