एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह: आर्थिक संकट टार्न पुँजी र प्रविधि भित्र्याउनु



काठमााडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कोरोनापछि आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशमा रहेका नेपालीलाई लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि देखिएको उल्लेख गरे ।

उनले नेपाललाई संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे ।

‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ’ उनले भने ‘यसबाट लाभ लिनुहोस् र नेपालमा बढी भन्दा बढी लगानी ल्याउनुहोस् ।’

उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा नेपाली पनि परेको बताए ।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाइ छ । उनले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पेश गरे ।


क्लिकमान्डु