बालुवाटार बोलाएर प्रधानमन्त्रीले अर्थसचिव मरासिनीलाई दिए काम गर्ने अख्तियारी



काठमाडौं । अर्थमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थसचिव मधु मरासिनीलाई काम गर्ने अख्तियारी दिएका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले मन्त्रालयको नियमित काम गर्ने अख्तियारी अर्थसचिव मरासिनीलाई दिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

कुनै पनि मन्त्रालयमा नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेपछि सचिवलाई निर्णय गर्ने अख्तियारी दिनुपर्ने कानूनी व्यवस्था छ ।

चालु आर्थिक वर्षको अन्त्यमा विभिन्न मन्त्रालयको रकमान्तर र स्रोतान्तरको निर्णय गर्नुपर्ने भएपछि प्रधानमन्त्री देउवाले मरासिनीलाई बिभिन्न निर्णय गर्ने अधिकारी दिएको हुन् ।

हिँजो (बुधबार) बिहान प्रधानमन्त्री देउवासँगको भेटपछि अर्थसचिव मरासिनी अर्थमन्त्री शर्माविरुद्ध उभिएका थिए ।

‘अर्थसचिवले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटेर सरुवा गरिदिन आग्रह गरेका थिए,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘ प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन निर्देशन दिएको बताउँदै बुधबार विदामा बस्न लगाएका थिए ।’

अर्थमन्त्री शर्माको राजीनामापछि बिहीबार बिहान प्रधानमन्त्री निकट व्यक्तिले अर्थसचिव मरासिनीलाई नियमित काममा फर्कनु भन्ने प्रधानमन्त्रीको सन्देश पुर्याएपछि मरासिनी आज दिउँसो १ बजे मन्त्रालय फर्किएका थिए ।

‘अर्थ मन्त्रालयबाट प्रधानमन्त्रीसँग अख्तियारी लिने सम्बन्धी पत्र बनाएर अर्थसचिव बालुवाटार आउनु भएको थियो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले नियमित काम गर्न निर्देशन दिँदै अख्तियारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।’

बुधबार अर्थमन्त्रीले राजीनामा दिएपछि नियमित काम गर्ने अख्तियारी समेत नहुँदा बिहहीबार अर्थसचिवले कुनै पनि फाइलमा हस्ताक्षर नगरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बुधबार अर्थसचिव विदामा बसेकाले बिभिन्न मन्त्रालयले रकमान्तर र स्रोतान्तर गर्न माग गर्दै पठाएका फाइलहरु अर्थ सचिवको च्याम्बरमा थुप्रिएका छन् ।

‘आर्थिक वर्षको अन्त्यमा नयाँ सचिव नियुक्त गर्दा पुँजीगत खर्चको भुक्तानीमा झनै समस्या हुने भयो,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ‘त्यसैले प्रधानमन्त्रीले अर्थसचिव मरासिनीलाई नै निरन्तरता दिने निर्णय गरेका हुन् ।’

चालु आर्थिक वर्ष समाप्त हुन एकसाता मात्रै बाँकी रहेकाले तत्कालै अर्थसचिव मरासिनीको सरुवा हुने सम्भावना टरेको छ । सरकारले असार २५ गतेपछि चेक नकाट्ने निर्णय गरेकाले पनि रकमान्तर र स्रोतान्तर सम्बन्धी विषयमा तत्काल निर्णय गर्नुपर्ने बाध्यता छ ।

‘नयाँ मन्त्री आउनु भयो भने पछि जे पनि हुनसक्छ,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ‘तर, तत्काल अर्थसचिव परिवर्तन हुने सम्भावना टरेको छ ।’


क्लिकमान्डु