भारतले गहुँको आँटा, मैदा र सुजी निर्यातमा प्रतिबन्ध लगाउने



काठमाडौं । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको दुई महिना नपुग्दै आँटा, मैदा र सुजी निर्यातमा प्रतिबन्ध गर्ने भएको छ ।

भारतको विदेश व्यापार निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै आगामी जुलाई १२ गतेबाट गहुँबाट उत्पादन हुने आँटा, मैदा, सुजीमा प्रतिबन्ध गर्ने भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारत सरकारले आन्तरिक उत्पादन निकै कम भएको र रुस–युक्रेन युद्धका कारण गहुँ निर्यातमा पनि असर परेकाले प्रतिबन्ध लगाएको थियो ।

विश्वको गहुँ उत्पादनमा दोस्रो ठूलो देश भारतले आफ्नो जनताका लागि खाद्यान्न जोहो गर्दै गत मेबाट निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँमा प्रतिबन्ध लगाएसँगै भारतबाट गहुँको आँटाको उच्च रुपमा निर्यात हुन थालेपछि सरकारले आँटामा पनि प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले बजारमा पिठोको मूल्य नियन्त्रणका लागि सो कदम चालेको जनाएको छ । तर, प्रतिबन्ध भइसमेपछि पनि निर्यातकर्ताहरूले आँटा निर्यातका लागि इन्टर–मिनिस्ट्रल कमिटीको अनुमति लिएर निर्यात गर्न सक्नेछन् ।

‘गहुँको आँटा निर्यातको नीति निशुल्क नै रहेनछ । तर, उक्त गहुँको आँटा निर्यातका लािग कमिटिको अनुमति लिनुपर्नेछ,’ निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यसैगरी, मैदा तथा सुजीको निर्यात गर्नका लागि पनि कमिटिको अनुमति चाहिने जनाएको छ ।

भारत सरकारले जुनसम्ममा २२ लाख मेट्रिक टन निर्यात गरिसकेको छ । जसमा भारत सरकारले अफगानिस्तान, बंगलादेश, भुटान, इजरायल। इन्डोनेसिया, मलेसिया, नेपाल, ओमन, फिलिपिन्स, कतार दक्षिण कोरिया, श्रीलंका, सुडान, स्वीजरल्यान्ड, थाइल्यान्ड, युएई, भियतनाम र एमनमा गत वर्षको तुलनामा ४ गुणाले निर्यात बढेको जनाएको छ ।


क्लिकमान्डु