धागो निर्यातमा नयाँ रेकर्ड कायम, मुख्य बजार भारत र टर्की



काठमाडौं । नेपालले धागो निर्यातमा नयाँ रेकर्ड कायम गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामै हालसम्मकै बढी निर्यात गरी कीर्तिमानी कायम गरेको हो ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ११ अर्ब ५६ करोड ४६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ४१ हजार ६४५ केजी विभिन्न प्रकारका धागो निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालले हालसम्म उक्त रकम बराबरको धागो एक आर्थिक वर्षमासमेत निर्यात गर्न सकेको थिएन । तर, यो वर्ष हालसम्मकै उच्च निर्यात गरी नयाँ रेकर्ड कायम गरेको सरोकारवालाहरू बताउँछन् ।

५ वर्षमा करिब ४४ अर्बको निर्यात
पछिल्लो समय उच्चरुपमा निर्यात हुँदै आएको धागो नेपालले ५ वर्षको अवधिमा करिब ४४ अर्बको धागो निर्यात गरेको छ ।

विभागको तथ्याङ्कअनुसार ५ वर्षमा नेपालले ४३ अर्ब ८० करोड ३२ लाख २८ हजार रुपैयाँको ५० करोड १ लाख ११ हजार ६३२ केजी धागो निर्यात गरेको छ ।

नेपालले आव २०७३/७४ मा ७ अर्बको ३ करोड केजी धागो निर्यात गरेको थियो । त्यस्तै, आव २०७४/७५ मा ८ अर्ब ४१ करोड १३ लाख ७० हजार रुपैयाँको र आव २०७५/७६ मा ९ अर्ब ७७ करोड १४ लाख ९९ हजा रुपैयाँको निर्यात भएको छ ।

साथै, आव २०७६/७७ मा १० अर्ब १२ करोड ३३ लाखको
र आव ८ अर्ब ५२ करोड ७५ लाख ४२ हजार रुपैयाँको धागो निर्यात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

मुख्य बजार भारत र टर्की
नेपालको धागोको मुख्य बजार भारत र टर्की रहेको छ । नेपालबाट निर्यात हुने धागोममध्ये करिब ७० प्रतिशतभन्दा बढी भारतमा मात्रै निर्यात हुने गर्दछ । त्यसपश्चात भने टर्कीमा उच्च रुपमा निर्यात हुने गरेको सरकारी तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा साढे ११ अर्बको निर्यात गर्दा भारतमा मात्रै ८ अर्ब १८ करोड ५२ लाख ४३ हजार रुपैयाँको २ करोड ८२ लाख ४७ हजार ३०५ केजी निर्यात भएको छ ।

त्यसपछि, टर्कीमा ३ अर्ब ३० करोड १७ लाख ९२ हजारको निर्यात भएको छ । साथै, जोर्डनमा १ करोड ५४ लाख ४९ हजारको, केन्यामा १ करोड ६३ लाखको, सिंगापुरमा १ करोड ४० लाखको, बेलायतमा ४९ लाखको, भियतनाममा १ करोड ७४ लाख ४० हजारको, यमनमा ९४ लाखको, क्यानाडामा ५७ लाख ६० हजारको र चिलेमा २५ लाख ६९ हजारको धागो निर्यात भएको छ ।

आन्तरिक उत्पादन बढे पनि आयात घटेन
नेपालले पछिल्लो समय धागो उत्पादनको क्षमता बढाउँदै गएको देखिन्छ । तर, आन्तरिक उत्पादन बढाउँदै लगेपनि नेपालले आयातमा भने कमी देखिँदैन ।

विगत ६ वर्षको तथ्याङ्क हेर्दा धागो आयात निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालले आव २०७३/७४ मा ४० करोड २३ लाख रुपैयाँको १४ लाख १७ हजार ५९० केजी धागो आयात गरेको थियो ।

त्यस्तै, आव २०७४/७५ मा ५८ करोड ९७ लाख ३८ हजारको १९ लाख ६ हजार ८५६ केजी, आव ७५/७६ मा ९१ करोड ९ लाख ७२ हजारको २५ लाख २७ हजार केजी, आव २०७६/७७ मा ७४ करोड १५ लाख ३७ हजारको २० लाख ५७ हजार २५८ केजी र आव २०७७/७८ मा ९३ करोड ३७ लाख ४९ हजारको २७ लाख ४ हजार ७६८ केजी धागो आयात गरेको छ ।

साथै, नेपालले चालु आवको ११ महिनाको अवधिमा उच्च निर्यातसँगै आयात पनि उच्च गरेको छ । नेपालले सो अवधिमा १ अर्ब २६ करोड २२ लाख १६ हजारको ३६ लाख १९ हजार केजी धागो आयात गरी नयाँ रेकर्ड कायम गरेको छ ।

नेपालले आयातित धागो पनि भारतबाटै आयात गर्ने गरेको छ । जसमा नेपालले १ अर्ब ५६ करोडको धागो आयात गर्दा १ अर्ब १७ करोड २६ लाख रुपैयाँको भारतबाटै आयात गर्ने गरेको सरकारी तथ्याङ्क छ ।


क्लिकमान्डु