६ वटा महानगरले ल्याए ५२ अर्बको बजेट, पोखरामा विवादपछि च्यातियो रातो किताब



काठमाडौं । शुक्रबार ६ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५२ अर्ब रुपैयाँको बजेट पेश गरेका छन् ।

दिनभरको विवादपछि पोखरा महानगरपालिका समेत बजेट ल्याउन सफल भएको छ ।

पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि बजेट ल्याउन नसकिएको हो ।

एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताए । एमालेका जनप्रतिनिधिले रातो किताब समेत च्यातेका छन् ।

बाँकी रहेका ५ वटा महानगरले तोकिएको समयमा नै बजेट ल्याएका छन् । काठमाडौं महानगरपालिकाले आगामी आवको लागि २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ, ललितपुर महानगरले ६ अर्ब ३५ करोड ३५ लाख, भरतपुर महानगरले ५ अर्ब ७४ करोड ४२ लाख, विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ र वीरगञ्ज महानगरले ३ अर्ब ३३ करोड रकमको ल्याएको छ । आगामी आवको लागि सबैभन्दा बढी बजेट काठमाडौं महानगरको रहेको छ भने सबैभन्दा कम वीरगन्ज महानगरपालिकाको रहेको छ । काठमाडौं महानगरपालिकाको बजेट अन्य ४ वटा महानगरपालिकाको भन्दा पनि धेरैै रहेको छ ।

काठमाडौं
आगामी आवको लागि काठमाडौं महानगरपालिकाले ल्याएको २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेटमा चालु आवको भन्दा सात अर्बभन्दा बढी हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गरेकी छिन् । कामपाले चालु आवका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो ।

आगामी आवका लागि पूर्वाधार विकासका लागि सबैभन्दा धरै ११ अर्ब ८ करोड बजेट प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन खर्चका ४ अर्ब ६८ करोड बजेट प्रस्ताव गरिएको छ । यस्तै आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको छ ।

स्रोत व्यवस्थापनतर्फ महानगरको सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक सङ्घीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहने छ ।

विराटनगर

विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ १ एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करोड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपूरक कोषमा ४ करोड ८० लाख विनियोजन गरिएको छ ।

वीरगन्ज

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । वीरगन्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले ३ अर्ब ३३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएका हुन् । बजेटमा चालुतर्फ २ अर्ब ६ करोड तथा पुँजीगत तर्फ १ अर्ब २६ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

बजेट स्रोतमा राजस्वबाट ९५ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र ससर्त अनुदान समेतबाट एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार आउने अनुमान गरिएको छ ।

भरतपुर

भरतपुर महानगरपालिकाले आगामी आवका लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरेको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा आन्तरिक आय १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट चार करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट तीन करोड रहने प्रक्षेपण गरिएको छ ।

# पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरेको छ ।

यसअघि बजेट प्रस्तुत हुनअगाडि रातो किताब प्रकाशित गरेको भन्दै एमालेले जनप्रतिनिधिले बजेट पेश हुन नदिने भन्दै विरोध गरेको थियो ।

पोखरा महानगरपालिकामा अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोतको व्यवस्था गरिएको छ । बाँकी रहेको २ अर्ब ४० करोड चालु आर्थिक वर्षको खर्च नभएको बजेटबाट हुने छ ।

आगामी आवका लािग सबै पालिकाहरुले असार १० गते आगामी आवको लागि बजेट प्रस्तुत गर्नुपर्ने र कार्यपालिकाकाको बैठकले असार मसान्तसम्म बजेट पास गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । पोखरा महानगरपालिकाले भने एमालेको विरोधका कारण बजेट ल्याउन पाएको छैन ।

#समाचार प्रकाशित भएपछि थप गरिएको


क्लिकमान्डु