यी हुन् नेपालले व्यापार नाफा गरेका २९ मुलुक, सबैभन्दा धेरै नाफा भियतनामसँग



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा विश्वका १६५ भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरेको छ ।

नेपालले दुई पक्षीय व्यापार गरेका यी मुलुकमध्ये अधिकांश देशसँग व्यापार घाटा छ । जसको कारणले चालु आवको जेठ महिनासम्म आउँदा मुलुकमा वस्तु आयात १७ खर्ब ६३ अर्ब रुपैयाँ र निर्यात १ खर्ब ८५ अर्ब रुपैयाँ मात्र छ । र, मुलुकको समग्र व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ छ ।

नेपालले व्यापार गरेका १६५ देशमध्ये १३६ देशसँग व्यापार घाटा भइरहेको छ भने बाँकी २९ देशसँग व्यापार नाफा गरेको छ । व्यापार नाफा गरेको अधिकांश मुलुक विश्वका अति कम विकसित र पछाडि परेका देशहरु छन् ।

नेपालले वैदेशिक व्यापार नाफा गरेको मुलुकमध्ये दक्षिण एसियाको देश अफगानिस्तान र माल्दिभ्स छन् ।
त्यसबाहेक केही युरोपियन, अफ्रिकन र अमेरिकी देशहरु रहेका छन् । कतिपय देशको नाम आम नेपालीमाझ परिचित पनि छैन ।

नेपालले व्यापार नाफा गरेको मुलुकहरुमा अल्जेरिया, अर्मानिया, अजरबैजान, बर्मुडा, कम्बोडिया, सेन्टर अफ्रिकन रिपब्लिक, कंगो, क्रोसिया, डेनमार्क, फिजी, घाना, गुइनिया, जमाइका, क्रिर्गिस्तान, मौरिटनिया, माइक्रोनेसिया, मोनाको, मोरोक्को, न्यु क्यालेडोनिया, निगेर, सैन्ट हेलेना, सेनेगल, सेरेलियोन, ट्रिनिडाड एण्ड टोबागो, यमन र जाम्बिया छन् ।

नेपालले सबैभन्दा धेरै व्यापार नाफा भियतनामसँग गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले भेतनामसँग ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको व्यापार नाफा गरेको छ ।

यस अवधिमा नेपालले भियतनाममा ९ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको निर्यात गर्दा १३ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

कम्बोडियासँग १६ करोड ३८ लाखका व्यापार नाफा गरेको छ । कम्बोडियामा २१ करोड ५४ लाखको निर्यात र ५ करोडको आयात गरेको छ ।

नेपालले अफनानिस्तासँग १ करोड ३६ लाख रुपैयाँको व्यापार नाफा गरेको छ । नेपाल अफनागनिस्तानमा १ करोड ९१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ५४ लाखको आयात गरेको छ । माल्दिभ्ससँग २३ लाख रुपैयाँको व्यापार नाफा गरेको छ ।

युरोपियन मुलुक डेनमार्कसँग नेपालले १७ करोड ९६ लाख रुपैयाँको व्यापार नाफा गरेको छ । डेनमार्कसँग ६६ करोड ५४ लाखको निर्यात र ४८ करोड ५७ लाखको आयात गरेको छ ।

न्यू क्यालेडोनियासँग २ करोड २३ लाख र निगरसँग ५ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार नाफा गरेको छ ।

अल्जेरियामा ६ करोड ४६ लाख रुपैयाँको व्यापार नाफा गरेको छ । अर्मेरियामा ४९ लाखको निर्यात गरेको छ । उक्त देशबाट आयात भएको छैन ।

त्यस्तै, नेपालले व्यापार नाफा गरेको देशहरुमा बर्मुडासँग ७ लाख ८० हजार, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग ९८ लाख, क्रोसियासँग ४४ लाख, फिजीसँग १० लाख, घानासँग ४ लाख ७३ हजार, गुइनियासँग २ करोड, जमैकासँग १० लाख, माल्टासँग ३४ लाख, माइक्रोनेसियासँग ९ लाख ५२ हजार, मोनाकोसँग ४२ लाख, जाम्बियासँग ५५ लाख र यमनसँग ७९ लाख रुपैयाँ बराबरको नाफाको व्यापार गरेको छ ।

नेपालले व्यापार गरेका १६५ देशमध्ये सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारतसँग छ । परम्परागत रुपमा द्विपक्षीय व्यापार हुँदै आएको भारतसँग लामो समयदेखि घाटाको व्यापार गरिरहेको छ ।

चालु आवका ११ महिनामा भारतसँगको व्यापार घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी छ । हरेक वर्ष भारतसँगको व्यापार घाटा बढ्दोक्रममा छ ।

यस अवधिमा नेपालले ११ खर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

नेपाल दोस्रो धेरै व्यापार घाटा गरिरहेको देश हो उत्तरी छिमेकी देश चीन । चालु आवको ११ महिनामा चीनसँग २ खर्ब ४३ अर्ब रुपैयाँ छ । यस अवधिमा नेपालले चीनबाट २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा ७३ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।


क्लिकमान्डु