अमात्यले झुलाउने मात्र योजना बनाएपछि फुलबारी रिसोर्ट लिलामीमा, तरलता अभावले खरिदकर्ता नपाउने सम्भावना



काठमाडौं । २७ वर्षअघि पोखरामा सञ्चालन शुरु गरेको दक्षिण एसियाकै शानदार फूलबारी रिसोर्ट बन्द भएको पनि करिब २ दशक पुगिसकेको छ । 

रिसोर्ट सञ्चालनका लागि लिएको कर्जामा साँवाभन्दा ब्याज दोब्बरभन्दा बढी भइसकेको छ । तर फेरि रिसोर्ट सञ्चालन हुने छाँटकाँट छैन । त्यसैले कर्जा दिने नेपाल बैंकले लिलामीका लागि सूचना निकालेको छ ।

रिसोर्ट लिलामीको प्रक्रियामा गएपछि लिलामी हुन्छ भन्नेमा नेपाल बैंक आफै आश्वस्त हुन सकेको छैन ।

‘कर्जा दिएको करिब ३ दशक हुन लाग्यो, लामो समयदेखिको खराब कर्जा असुल गर्ने प्रयास गरेका हौं,’ नेपाल बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले भने, ‘हाम्रो चाहना पनि लिलाम होस् भन्ने थिएन तर यति धेरै समय दिँदा पनि ऋण नउठेपछि लिलामीमा जानु परेको हो ।’

उसो त सञ्चालक पीयूषबहादुर अमात्यले पनि यसलाई सल्टाउने प्रयास नगरेका होइनन् । कहिले साँवा मात्रै तिर्ने योजना त कहिले मेरियट भित्र्याएर चलाउँछु भन्दै बैंकमा योजना पेश गर्दै आएका थिए ।

फुलबारी रिसोर्ट सञ्चालनका लागि आर्थिक वर्ष २०५२ सालमा नेपाल बैंकको  नेतृत्वमा १ अर्ब ३१ करोड रुपैयाँ लगानी गरिएको थियो । जसमा नेपाल बैंकले ६५ करोड रुपैयाँ, तत्कालीन औद्योगिक विकास निगम अहिले वाणिज्य बैंकमा गाभिएको संस्थाले ३५ करोड र बाँकी कर्मचारी सञ्चय कोषले कर्जा दिएको थियो । सहवित्तीयकरणमा नेतृत्व भने नेपाल बैंकले गरेको थियो । 

तर रिसोर्टसँगै शुरु भएको माओवादीको सशस्त्र द्वन्द्व र २०५८ सालमा राजदरबार हत्याकाण्डको असर रिसोर्ट बन्द हुने कारक बन्यो । रिसोर्ट सञ्चालन हुँदा तत्कालीन समयमा यसलाई दक्षिण एशियाकै शानदार रिसोर्टका रुपमा ब्याख्या गरिएको थियो । रिसोर्ट अवस्थित भौगोलिक अवस्था र सेवा सुविधाले यसलाई तत्कालीन समयको निकै लक्जरियस रिसोर्ट बनाएको थियो ।

तर माओवादीको आतंकका कारण पर्यटक आगमनमा कमी आयो । सन् १९९४ सालमा ३ लाख २६ हजार विदेशी पर्यटक आएकोमा त्यसपछि उल्लेख्यरुपमा संख्या वृद्धि हुन सकेन् । १९९७ मा विदेशी पर्यटकको संख्याले ४ लाखको आँकडा पार गरे पनि ५ लाखको आँकडा पार गर्न सन् २००७ सम्म पर्खनु पर्यो । यसले रिसोर्ट सञ्चालन अपेक्षाकृतरुपमा हुन सकेन् । 

अर्को कारण थियो, राजदरबार हत्याकाण्ड । अमात्य परिवार पुर्खादेखि नै धनीमानी परिवारमा गनिन्थे । यतिसम्म कि उनीहरुको हैसियत राज्यलाई आवश्यक परेको समयमा ऋण दिने र राजपरिवारका सदस्यहरुलाई विदेश भ्रमणको सम्पूर्ण खर्च बेहोर्थे । तर २०५८ सालमा राजपरिवारमा राजा बीरेन्द्र र उनको सम्पूर्ण परिवारको हत्या भएपछि अमात्यलाई व्यवसायिकरुपमा पनि धक्का लाग्यो । वीरेन्द्रसँग उनको सम्बन्ध निकै सुमधुर थियो ।

त्यसपछि २०६२÷६३ को परिवर्तनपछि मजदुर आन्दोलनको कारण सेवा स्थगित गरेको रिसोर्ट आजसम्म पनि सञ्चालन हुन सकेको छैन् ।

रिसोर्ट बन्द भयो अमात्यले बैंकको ऋण तिर्न सकेनन् । फलस्वरुप बैंकले कालोसूचीमा राख्यो । तर २०६५ साल वैशाख महिनामाअमात्यले जसरी पनि रिसोर्ट सञ्चालन गर्ने आश्वासन दिएपछि नेपाल बैंकले कालोसूचीबाट हटाउँदै सोही वर्षको जेठ महिनामा ऋण असुली न्यायाधिकरणबाट समेत मुद्दा फिर्ता लियो । 

तर, रिसोर्ट सञ्चालन हुन सकेन । अमात्यले ऋण सल्टाउन गरेको प्रयासले काम गरेन् ।

त्यसको ६ वर्षपछि नेपाल बैंकले १५ दिने सूचना र २०७२ सालमा ३५ दिने सूचना प्रकाशित गर्यो । तर अमात्यले ऋण तिर्न कुनै चासो देखाएनन् । 

‘यति ठूलो लगानी भएको रिसोर्ट ऋण तिर्न नसकेर बन्द होस् भन्ने हाम्रो चाहना होइन, यसले पर्यटन र रोजगारीमा ठूलो योगदान गर्न सक्ने भएकाले हामीले थप समय दिइरह्यौं,’ अधिकारीले भने, ‘तर कति दिनसम्म अवसर दिइराख्ने त ?’

उसो त अमात्यले २०७३ सालमा साँवा मात्रै बुझाउने प्रस्ताव पेश नगरेका होइनन् । रुग्ण उद्योगका रुपमा साँवा वापतको १ अर्ब ३१ करोड रुपैयाँ लिएर बैंक समक्ष पुगेका अमात्यको प्रस्ताव बैंकका लागि स्वीकार्य हुने कुरै भएन । त्यसैले उनको त्यो प्रस्ताव त्यत्तिकै तुहियो ।

नेपाल बैंकले उक्त ऋणलाई २०७६ सालमा पुनसंरचना गर्यो । र, साँवा १ अर्ब ३१ करोड र साधारण ब्याज मात्रै २ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४७ करोड रुपैयाँ निस्कियो ।

त्यसपछि अमात्यले रिसोर्ट सञ्चालन गर्ने तर यसका लागि थप २५ करोड रुपैयाँ थप ऋण आवश्यक भएको प्रस्ताव बैंक समक्ष पेश गरे । तर अब रिसोर्र्ट भने अन्तर्राष्ट्रिय चेन होटल मेरियटले गर्ने भन्ने प्रस्ताव पनि पेश गरे । 

बैंकहरुलाई पनि लामो समयपछि समस्या समाधान हुन्छ र रिसोर्ट सञ्चालन हुन्छ भने किन नगर्ने भन्ने लाग्यो र थप केही समय दिने निर्णय गरे । अमात्यको भनाइ अनुसार २०७७ वैशाखबाट मेरियटले रिसोर्ट सञ्चालन गरिसक्नुपर्ने थियो । थप २५ करोड लगानीमा ४० वटा कोठासहित रेष्टुराँ र अन्य अत्यावश्यक सेवा सुविधा सञ्चालन भइसक्नुपर्ने थियो । तर भएन ।

लामो समयसम्म पनि रिसोर्ट सञ्चालनमा नआएपछि अमात्य र बैंकबीच पटक–पटक कैयन छलफल भए । तर निचोड निस्कन सकेन् ।

‘पछिल्लो पटक २०७७ फागुन र २०७८ चैतमा छलफल भएको थियो, तर आश्वासन हुने कुनै आधार देखिएन,’ अधिकारीले भने ।

अधिकारीका अनुसार हाल लिलामीमा रिसोर्टले चर्चेको १३८ रोपनी जग्गा राखिएको छ । 

यसअघि रिसोर्टका नाममा १६९ रोपनी जग्गा भए पनि सडक निर्माण र सशस्त्र प्रहरीले बाँकी जग्गा ओगटेपछि रिसोर्ट रहेको १३८ रोपनी जग्गा लिलामीमा राखिएको हो ।

लिलामीमा राखिएको जग्गाको मूल्यांकन अनुसार बैंकको ऋण चुक्ता गर्न पुग्छ वा पुग्दैन त्यो यकिन छैन । तर ठूलो आकारको ऋण भएकाले बैंक छिटोभन्दा छिटो लामो समयदेखिको खराब कर्जाबाट भने मुक्त हुन चाहेको देखिन्छ ।

अर्बौ रुपैयाँ पर्ने जग्गा र भवन खरिद गर्नका  जोकोहीले आँट गर्न सक्ने कुरा भएन । फेरि त्यसका लागि बैंकबाटै कर्जा लिने हो तर अहिले बैंकमा तरलता अभावका कारण ठूलो रकम बराबरको कर्जा पाउन निकै मुस्किल छ ।

‘बैंकिङ प्रणालीमा तरलता अभाव लामो समयदेखि कायमै छ, यस्तो अवस्थामा लिलामी कसरी हुन्छ यकिन छैन,’ अधिकारीले भने, ‘लगानीकर्तासँग विदेशबाट पैसा ल्याउन सकेको अवस्थामा भने समस्या हुँदैन ।’


कमलकुमार बस्नेत