पोखराको फुलबारी रिसोर्ट लिलामी हुने, बैंकको ३ अर्ब ऋण तिर्न बाँकी



काठमाडौं । नेपाल बैंकले फुलबारी रिसोर्टलाई लिलामीमा लग्ने भएको छ । नेपाल बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फुलबारी रिसोर्टको लिलामी बढाबढ प्रक्रियामा बिक्री हुने जनाएको छ ।

फुलबारी रिसोर्टमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य तथा कर्मचारी सञ्चय कोषले सहवित्तीयकरणमा ऋण दिएका थिए । फुलबारीले रिसोर्टले बैंकको नियमित किस्ता ब्याज नतिरेको एक दशकभन्दा बढी भइसकेको छ । सन् १९९८ मा नेपालले भ्रमण वर्ष मनाएको बेला पोखरामा फुलबारी रिसोर्ट खुलेको थियो ।

रिसोर्टका संस्थापक पियुषबहादुर अमात्य अहिले कर्जा सूचना केन्द्रको कालोसूचिमा छन् । कुनैबेला राजा विरेन्द्रका नजिक मानिने र दरवारका सदस्यहरु विदेश भ्रमणमा निस्कदा व्यक्तिगत रुपमा अमेरिकी डलर व्यवस्थापन गर्न सक्ने अमात्यको ओरोला यात्रासँगै फुलबारी रिसोर्ट बन्द भएको हो ।

माओवादीको आन्दोलन तथा अमात्यको खराब व्यवस्थापनले रिसोर्ट सफल नभएर बन्द भएको हो ।

नेपाल बैंकले फुलबारी रिसोर्टको नाममा रहेको घरजग्गा तथा फुलबारी रिसोर्टका अध्यक्ष अमात्यको नाममा रहेको घरजग्गा लिलामीमा लग्न लागेको हो । फुलबारी रिसोर्ट ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।यसको बजार मूल्य भने ४ अर्बभन्दा बढी पर्ने बताएको छ ।
३ वर्ष अगाडि अमात्यले रिसोर्ट सञ्चालन गर्ने भनेर बैंकसँग सम्झौता गर्ने तयारी समेत गरेका थिए । अमात्यले रिसोर्टले चर्चेको जमिन बिक्री गरेर बैंकको ऋण तिर्ने र बाँकी पैसा लिने तयारी गरेका थिए ।

नेपाल बैंक स्रोतले भने अमात्यले लामो समयसम्म ऋण नतिर्ने र रिसोर्ट समेत चलाउने कुनै तयारी नगरेपछि धितोमा रहेको सम्पत्ति लिलामीमा लग्न लागेको जनाएको छ । फुलबारी रिसोर्ट लिलामीमा बिक्री भएमा नेपाल बैंकको आम्दानी भने निकै बढ्ने छ । बैंकले सो बराबरको रकम प्रोभिजन गरिसकेको छ । जुन रिसोर्ट बिक्री भएपछि राइटब्याक हुने र सेयरधनीलाई पाउनेछन् ।

‘लामो समयसम्म ऋण नतिरेर कालोसूचिमा रहेका र धितोमा रहेको सम्पत्ति लिलामी गर्न लागिएको हो,हामीले फुलबारीलाई ऋण तिर्न लामो समय दिएका थियौ,’नेपाल बैंक स्रोतले भन्यो ।

बैंकले फुलबारी रिसोर्टको सम्पत्ति लिलामीमा किन्न चाहनेले ३५ दिनभित्र नेपाल बैंकमा गएर ५ हजारको बोलपत्र फाराम किनेर सहभागी हुन सक्ने जनाएको छ ।


क्लिकमान्डु