व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइयोः ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताए ।

अध्यक्ष ओलीले बजेट बनाउँदा अनाधिकृत व्यक्तिहरु राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गरे । उनले संसारका कुनै राज्य प्रणालीमा बजेट बनाउनुपूर्व व्यापारीका प्रतिनिधि राखेर बनाउने प्रचलन नरहे पनि नेपालमा कमिसन खाएर बजेट निर्माण गर्ने प्रणालीको खिल्ली उडाएको बताए ।

अध्यक्ष ओलीले बजेट अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिवले तयार गर्ने भएपनि अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिएको बताए । उनले व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिएको भन्दै बजेट बनाउँदा नै व्यापारीहरु बोलाएर बनाएकोप्रति आपत्ति जनाए ।

अध्यक्ष ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरु पार्टीले दिएको ओहोदा, सुविधाहरु उपभोग गरेर पार्टीको कसरी अपमान, बेइज्ज्त गरिरहेको बताए । केही समयअघि नेता भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिए । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको बिरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा बिस्थापित र धाँदली गर्न लागिपरेको बताए । अध्यक्ष ओलीले पार्टीमा गरेको गद्धारीको हिसाब किताब समयक्रममा हुने चेतावनी दिए ।

अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर बाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि बिरुद्धमा अगुवाई गरिरहेको बताए । उनले देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्नपनि निर्देशन दिए ।

अध्यक्ष ओलीले नेकपा एमालेलाई हराउन बिरोधी नसक्ने दाबी गर्दै आफ्नै पार्टीबाट चुनावमा हराउन सकुनी, मिर जाफर र मिर काशिमहरु निस्किएको बताए । उनले जनताले स्थानीय तहमा पार्टीले गरेका कामहरुलाई हेरेर मतदान गर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरुले उदाहरणीय काम गरेर देखाउन निर्देशन दिए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा एमाले आफ्नै कमजोरीका कारण हारेको बताए ।


क्लिकमान्डु