मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोड ९ लाखको बजेट (पूर्णपाठ)



काठमाडौं । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लगि बजेट पेश गरेको छ । प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आवको बजेट प्रदेश सभामा पेश गरेका छन् ।

आगामी आवका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएकाे छ । विनियोजन बजेट मध्ये चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५२.२१ प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ अर्थात ०.३५ प्रतिशत रहेको छ ।

आगामी आवको लागि अनुमानित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको संचिती रकम ३८ करोड, संघ सरकारबाट राजस्व बाँडफाँट बापतको ११ अर्ब ६१ करोड ९८ लाख, समानिकरण अनुदान बापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख र चालु आवको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको जनाइएको छ ।

विशेष अनुदानबाट ४९ करोड र समपुरक अनुदानबाट ७८ करोड तथा सशर्त अनुदानबाट १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब ४ करोड ८९ लाख २८ हजार व्यहोर्दा १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय न्यून देखिएको छ । उक्त न्यून रकम पूर्ती गर्न आन्तरिक ऋण परिचलान गर्ने बताए ।


क्लिकमान्डु