बजेट बनाउन बाहिरका कोही पनि व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय



काठमाडौं । अर्थ मन्त्रालयले अर्थमन्त्री र मन्त्रालयसँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित समाचारका कुनै सत्यता नभएको मन्त्रालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमाका क्रममा जेठ १४ गते अर्थ मन्त्री सूचीकृत दैनिक औपचारिक कार्यक्रम बाहेक हरेक दिन बिहान साढे ७ बजे मन्त्रालय आउने र राती अबेरसम्म रहेर बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन्तर छलफल गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकको अर्थतन्त्रको विकास र सुधारका बिषयमा निरन्तर क्रियाशिल रहेका अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण बिषय राखी समाचार प्रकाशित भएको जनाएको छ ।

‘सोही क्रममा बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा जेठ १४ गते बिहानैदेखि मन्त्रालयमा अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसंग सम्वन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्वन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधिभित्र रहेर निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरुको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरु प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको स्मरण गराएको छ ।


क्लिकमान्डु