अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्नः मध्यरातमा करको दर हेरफेर गर्न किन बाहिरको मान्छे बोलाएको ?



काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको बताएका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मध्ये रातको १२ बजे अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई आफ्नो कार्यकक्षमा बाहिरको मान्छेलाई बोलाएर करका दरमा हेरफेर गरेको बताए । उनले त्यस्ता व्यक्तिलाई बजेट आउने अघिल्लो दिन किन बोलाएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको बताए । उनले अर्थमन्त्रीले संसद्को बैठकमा त्यसबारेमा जानकारी गराउनुपर्ने माग गरे ।

सांसद, मन्त्रीहरुले पदमा रहँदा वा नरहँदा कुनै पनि कुरा सार्वजनिक नगर्ने भनेर सपथ खाएको स्मरण गर्दै बजेट निर्माणको अन्तिम चरणमा बाहिरको मान्छे आउनु राष्ट्र नाममा लिएको सफतको खिलाफ भएको उनको तर्क छ । यो राष्ट्रघात भएको भन्दै यस विषयमा मन्त्रीको स्पष्टिकरण समेत माग गरेका छन् । यस विषयमा प्रधानमन्त्रीको भनाइ पनि आवश्यक रहेको उनको दाबी छ ।


क्लिकमान्डु