सञ्चय कोषबाट ७ महिनामा जग्गा खरिदका लागि ८७ जनाले लिए २२ करोड ५० लाख सापटी



काठमाडौं । कर्मचारी सञ्चय कोषले गत मंसिरदेखि शुरु गरेको जग्गा खरिद सापटीको सुविधाबाट हालसम्म ८७ जना लाभान्वित भएका छन् ।

सञ्चय कोषमा योगदान गर्ने सञ्चयकर्तालाई गत मंसिरदेखि कोषले जग्गा खरिदका लागि पैसा सापटी दिन शुरु गरेको थियो ।

विगतमा विभिन्न शीर्षकमा दैनिक औसत ५० जनाभन्दा बढी सञ्चयकर्तालाई कर्जा प्रवाह गर्दै आएको कोषले जग्गा खरिदमा पनि सापटी रकम दिन शुरु गरेको थियो ।

कोषका अनुसार ७ महिनाको अवधिमा ८७ जनाले घर सापटी, घर खरिद, सरल चक्रकर्जा, घर मर्मतका लागि २२ करोड ५० लाख ६७ हजार रुपैयाँ सापटी लिएका छन् । जसमध्ये ३२ जना निजामति कर्मचारीका लागि ११ करोड ६५ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी, संस्थानका २६ जना सञ्चयकर्ताका लागि २ करोड ८८ लाख २२ हजार रुपैयाँ, १४ जना नेपाली सेनाले ३ करोड ७३ लाख ६१ हजार रुपैयाँ, ८ जना प्रहरीले २ करोड ३४ लाख १० हजार रुपैयाँ र ७ जना शिक्षकले १ करोड ८८ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको कोषले जनाएको छ ।

हाल कोषमा करिब ६ लाख सञ्चयकर्ता छन् । उक्त सञ्चयकर्ताबाट साढे ४ खर्बभन्दा बढी संकलित रकम छ । सोही संकलित रकमबाट सञ्चयकर्ताहरूले विभिन्न सेवा लिन सक्ने व्यवस्था मिलाएको कोषले जनाएको छ ।

त्यस्तै, कोषले गत मंसिरबाट जग्गा खरिद सपटी सेवा प्रवाह गरेसँगै उच्च रुपमा कर्जा लिनेको संख्या बढेको सञ्चय कर्जा विभागका प्रबन्धक रामचन्द्र पोखरेल बताउँछन् ।

कोषले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । २४ अर्ब ८४ लाख ३३ लाख रुपैयाँ संस्थाको सेयरमा लगानी गरेको कोषको २ खर्ब ७० अर्ब ५३ लाख ३५ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

त्यसैगरी, कोषको १ खर्ब ३२ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ अन्य लगानी जनाएको छ ।


क्लिकमान्डु