६ वटा महानगरलाई १० अर्ब बढी अनुदान, भरतपुर सरकारको प्राथमिकतामा, कुनलाई कति ?



काठमाडौं । सरकारले अन्तर सरकारी वित्तीय अस्तान्तरण अन्तर्गत प्रदेशमा पठाउने पैसामा भरतपुर महानगरपालिकालाई प्राथमिकता दिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन गरेको बजेटले स्थानीय तह अन्तरसरकारी वित्तिय हस्तान्तणअन्तर्गत ३ खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले ६ वटा महानगरपालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान अन्तर्गत १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँ अनुदान पठाएको छ ।

सरकारले चालु आवको तुलनामा आगामी आवमा महानगरमा पठाउने रकम बढाएको छ । चालु आवका लागि महानगरलाई १० अर्ब ९ करोड २८ लाख रुपैयाँ विनियोजन गरेको थियो । आगामी आवमा ६ वटा महानगरमा ४ वटा शिर्षकमा जाने अनुदान २२ करोड १ लाख रुपैयाँले बढेको छ ।

भरतपुर महानगरपालिका

केन्द्र सरकारले ४ शिर्षकमा अनुदान पठाउने गरेको छ । केन्द्र सरकारबाट जाने यस्तो अनुदान अन्य महानगरलाई भन्दा धेरै भरतपुर महानगरपालिकालाई बढाएर पठाइएको छ । अन्य महानगरलाई चालुको तु्लनामा थोरै रकम मात्रै बढाउने गरेको भएपनि भरतपुरमा भने धेरै नै बढाइएको छ ।

जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल प्रमुख रहेकी छिन् । उनको महानगरलाई अर्थमन्त्री जनार्दन शर्माले १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान रकम विनियोजन गरेका छन् । जुन चालु आवमा १ अर्ब ६४ करोड २८ लाख दिएको थियो । आगामी आवको लागि भरतपुर महनगरलाई केन्द्र सरकारको अनुदान १५ करोड ९६ लाख रुपैयाँले बढेको छ ।

वीरगञ्ज

वीरगञ्ज महानगरपालिकालाई आगामी आवको लागि १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ अनुदान रकम विनियोजन गरिएको छ । चालु आवमा १ अर्ब ४५ करोड ४० लाख विनियोजन थरिएको थियो । चालुको तुलनामा आगामी आवमा अनुदान रकम घटेको छ ।

ललितपुर

ललितपुर महानगरपालिकालाई सरकारले १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ अनुदान दिएको छ । चालु आवको लागि १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ अनुदान दिएको थियो । आगामी आवका लागि विनियोजन गरेको बजेटले अनुदान रकम घटेको छ ।

काठमाडौ

सरकारले काठमाडौ महानगरपालिकालाई आगामी आवको बजेटबाट २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ अनुदान दिएको छ । चालु आवमा २ अर्ब १ करोड ३७ लाख अनुदान दिएको थियो । चालुको तुलनामा आगामी आवका लागि संघीय सरकारले काठमाडौं महानगरलाई करिब साढे २ करोड रुपैयाँ अनुदान बढाएको छ ।

पोखरा

सरकारले पोखरा महानगरपालिकालाई आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड ४६ लाख अनुदान दिएको छ । चालु आवमा २ अर्ब ५६ करोड १६ लाख दिएको छ । आगामी आवमा यस्तो अनुदान रकम २ करोड रुपैयाँ बढी बढेको छ ।

विराटनगर
सरकाले विराटनगर महानगरपालिकालाई आगामी आवमा १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ अनुदान दिएको छ । चालु आवका लागि १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ अनुदान दिएको थियो । आगामी आवका लागि भने संघीय सरकारले दिने अनुदान रकम २ करोड ३२ लाख रुपैयाँ भन्दा बढीले बढेको छ ।


क्लिकमान्डु