व्यवसायीक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने तयारी



काठमाडौं । सरकारले व्यवसायिक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने तयारी गरेको छ ।

विगतमा पनि व्यवसायिक प्रयोजनका लागि निलो र घरायसी प्रयोजनका लागि रातो ग्याँस प्रयोग गर्ने निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन ।

तर, पछिल्लो समय प्रतिसिलिण्डर ग्याँसमा ७५१ रुपैयाँ नोक्सान हुन थालेपछि व्यवसायिक र घरायसी प्रयोगको ग्याँसको मूल्य फरक बनाउने निष्कर्षमा नेपाल आयाल निगम पुगेको हो ।

नेपाल आयल निगमको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले घरायसी र व्यवसायिक प्रयोजनका लागि अलग–अलग मूल्य कायम गर्न निगम सञ्चालक समितिका सदस्यको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त समितिले दिने प्रतिवेदनका आधारमा तत्काल नै घरायसी र व्यवसायिक प्रयोगको ग्याँसको मूल्य फरक बनाउने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको तयारी छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले व्यवसायीक प्रयोजनको ग्याँसमा सधैं अनुदान दिन नसकिने भन्दै मूल्य समायोजन गर्न निर्देशन दिएका थिए ।

नेपाल आयल निगमका अनुसार अगामी १५ दिनमा ग्याँसमा मात्रै १ अर्ब ४३ करोड रुपैयाँ घाटा छ । निगमले बिहीबार पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएपछि आगामी १५ दिनको घाटा ३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले पेट्रोलियम पदार्थमा कर समायोजन गर्ने निर्णय गरेपनि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको आर्थिक ऐनमा पेट्रोलियम पदार्थमा कर समायोजन गर्ने विषयमा कुनै प्रस्ताव पेश गरेको थिएन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार कर घटाएको सूचना प्रकाशित गर्नु पर्ने अर्थमन्त्रालयले जेठ १७ गते १० रुपैयाँ मूल्य समायोजन गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अर्थमन्त्रालय कर समायोजन नगरी पत्र पठाएपछि आक्रोशित भएका उद्योगमन्त्री बडूले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत् अर्थमन्त्रीलाई कर घटाउन निर्देशन दिन लगाएका थिए ।

अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश संसदमा विचारधिन रहेको अवस्थामा कर समायोजन गर्न नसिकिने बरु पछि हाल संकलन भएको कर निगमलाई शोधभर्ना दिने प्रतिवद्धता जनाएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरको हो ।


क्लिकमान्डु