बजेटले चोरी पैठारी बढ्छ, राजस्वमा प्रतिकूल असर पर्छः पैठारी संघ



काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले राजस्व बढनुको सट्टा चोरी पैठारी बढेर नेपाल समुन्द्रपार निकासी पैठारी संघको ठहर छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०का लागि ल्याएको बजेटबाट वैधानिक कारोवार निरुत्साहित हुने र राजस्वमै प्रतिकूल असर पर्ने देखिएको संघको बुझाइ छ ।

महँगीको चपेटामा परेका उपभोक्तामाथि महँगीको बोझ थपिने गरी अधिकांश वस्तुको भन्सार महसुल र अन्तःशुल्क दर वृद्धि हुनुलाई संघले बजेटको नकारात्मक पक्षको रुपमा लिएको संघले जनाएको छ । संघले सरकारले आगामी आवका लागि ल्याएको बजेटले करको भार थोपरेको जनाएको छ ।

करको दर नभई दायरा वृद्धि गर्नुपर्ने संघ लगायत निजी क्षेत्रको माग रहेको भएपनि आगामी आवको बजेटले उक्त माग सम्बोधन गर्न नसकेको जनाएको छ । साबिकका व्यवसायमाथि नै करको भार थोपर्दा व्यवसायको लागत बढ्ने र व्यवसायी पलायन हुने स्थिति आउँने संघको बुझाइ छ ।

भन्सार र अन्तःशुल्कका दरमा गरिएको वृद्धिले मुद्रास्फीतिलाई वाञ्छित सीमामा राख्ने सरकारको लक्ष्यमा पनि चुनौती खडा गर्ने गर्ने संघको बुझाइ छ ।

कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै यस क्षेत्रमा जाने बजेटको आकार बढाउनुलाई संघलै निकै सकारात्मक मानेको छ । यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्ने संघको ठहर छ । स्वदेशी उद्योगका लागि विभिन्न सहुलियत घोषणा गरिनु यो बजेटको अर्को सकारात्मक पक्ष भएको भन्दै यसबाट मुलुकमा औद्योगिकीकरण र रोजगारीका अवसर सिर्जना हुने तथा विदेशी लगानी प्रोत्साहित हुने संघले जनाएको छ ।

संघले लामो समयदेखि गर्दै आएको माग बमोजिम आयकर नलाग्ने सीमा थोरै भए पनि वृद्धि गर्नु बजेटको सकारात्मक पक्ष भएको उल्लेख छ ।

आयकर नलाग्ने सीमा हेरफेर गर्दा मुद्रास्फीतिको पक्षलाई भने बजेटल ध्यान दिन नसकेको पाइएको छ ।
निकासीमा दिइने नगद अनुमान बढाउनुपर्ने माग पनि यस संघले निकै अघिदेखि राख्दै आएको हो । यसपटकको बजेटले उक्त मागलाई सम्बोधन गरेकोमा संघले उक्त निर्णयको स्वागत गरेको छ ।

उच्चतम दरको नगद अनुदान पाउनेमा निकासीयोग्य थोरै वस्तु मात्र राखिएको छ । अतः उक्त सूचीमा गार्मेन्टलगायत अन्य वस्तु राख्नुपर्दछ । त्यसैगरी, अनुदान प्राप्त गर्ने प्रक्रिया सरलीकरणतर्फ भने बजेट मौन रहेको छ ।

विदेशी लगानीको सीमा घटाउनुपर्ने यस संघको मागलाई पनि यो बजेटले सम्बोधन गरेको छ । यसले गर्दा मझौला उद्योग, व्यवसायमा विदेशी लगानीकर्ता आकर्षित भई रोजगारीका अवसर सिर्जना र स्वदेशी उत्पादन तथा निकासी वृद्धिमा भूमिका खेल्न सक्ने संघले अपेक्षा लिएको जनाएको छ ।


क्लिकमान्डु