विराटनगरका मेयर, उप-मेयरलाई संगठनले दियो आधा दर्जन सुझाव



विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा गर्नुपर्ने कामका लागि सुझाव दिएको छ ।

नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासग प्रत्यक्ष सम्बन्ध राख्ने सडक, खानेपानी, फोहोर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुने गरी सुधारका कार्य गर्न सुझाव दिए ।

अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरमा सडक, नाला लगायतका पूर्वाधार निर्माण नभएकाले सानो तिनो वर्षामा समेत विराटनगर डुवानमा पर्दै आएको बताउँदै महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरुको सुझाव लिई दीर्घकालिन सोचका साथ काम गर्न अनुरोध गरे ।

महानगरको मध्यकालिन योजना अन्तर्गत विराटनगरमा स्थाई औद्योगिक प्रदर्शनी स्थलको आवश्यकता लामो समयदेखि हुँदै आएकाले संघिय र प्रदेश सरकारको साथ र सहयोग लिई पूर्वाधार यूक्त अत्याधुनिक प्रदर्शनी स्थल निर्माणमा अगुवाई लिन अध्यक्ष प्याकुरेलले अनुरोध गरे ।

उनले रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरु पुनः संचालनमा ल्याए रोजगारका अवसरहरु सिर्जना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताउँदै एकिकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बिक्री वितरणका कक्ष निर्माण, स्र्टापअपहरुको प्रवद्र्धनका माध्यमबाट युवाहरुलाई उद्यमशिलता विकासतर्फ अभिप्रेरित गर्ने कार्यक्रम लागु गर्न अनुरोध गर्दै महानगरको विकासमा उद्योग संगठन मोरङको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

नवनिर्वाचित मेयर कोईरालाले औद्योगिक नगरमा रुपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्य आफनो प्राथमिकतामा पर्ने भएकाले पाँच वर्षे कार्यकालमा जसरी पनि निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ योजनासहित विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग संचालनमा ल्याउन आफु लागि पर्ने बताउँदै उनले करका दरहरु घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको बताए । अबका दिनमा विराटनगरको पूर्वाधार विकास गर्दा समग्र क्षेलाई प्रभाव नपर्नेगरी विशेषज्ञहरुको राय, सुझाव लिई वैज्ञानीक पद्धती अनुरुप गरिने, युवाहरुका लागि स्थानीय स्तरमा रोजगारका अवसरहरु सिर्जना गर्ने वातावरण तयार गर्ने, आगामी पाँच वर्षमा विराटनगरलाई देश कै नमुना शहरको रुपमा विकसीत गर्ने योजना रहेकाले सबैको साथ र सहयोगका लागि अनुरोध गरे ।

संगठनका तर्फबाट बिज्ञहरुको सुझावमा विराटनगरको समग्र क्षेत्रको विकास लागि साझा दस्तावेज तयारी गरी सोही अनुरुप कार्यगर्न, साना उद्योगहरुका लागि औद्योगिक ग्रामको स्थापना, सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने लगायतका विराटनगरको वृहत्तर विकासका सन्दर्भमा गर्नुपर्ने कार्यहरुको सुझावहरु दिइएको थियो ।


क्लिकमान्डु