लोकसेवाले पत्र लेखेपछि भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते नै हुने, नतिजा निर्वाचनपछि



काठमाडौं । भन्सार विभागको परीक्षा आगामी वैशाख १७ गते निर्धारित मितिमै हुने भएको छ।

वैशाख ७ गते निर्वाचन आयोगले भन्सार विभागलाई स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको भन्दै तत्काल परीक्षा सञ्चालन नगर्न भन्दै पत्राचार गरेको थियो ।

तर, शुक्रबार लोकसेवा आयोगले भन्सार एजेन्टको परीक्षा अर्थमन्त्रालयको आग्रहमा आफूहरूले सञ्चालन गर्न लागेको बताउँदै परीक्षा नरोक्न आग्रह गर्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निर्वाचन आयोगमा पठाएको पत्रमा भन्सार एजेन्टको परीक्षा भन्सार विभागले नभई लोकसेवाले सञ्चालन गर्न लागेको उल्लेख छ।

निर्वाचन आयोग स्रोतले भन्सार एजेन्ट परीक्षा सञ्चालन गर्न अनुमति दिइने जानकारी दिएकाे छ।

‘भन्सार एजेन्टको परीक्षा हामीहरूले सञ्चालन गर्न लागेका छौं भन्दै लोकसेवा आयोगले पत्र पठाएको छ,’ आयोग स्रोतले भन्यो, ‘संवैधानिक आयोगले सञ्चालन गर्ने परीक्षा रोक्न मिल्दैन । हामीलाई भन्सार विभागले परीक्षा गर्न लागेको जानकारी पठाएकाले परीक्षा रोक्न भनेका थियौं ।’

निर्वाचन आयोगले लोकसेवा आयोगलाई लेखेको पत्रमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि नतिजा प्रकाशन गर्ने लोकसेवा आयोगबाट भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्न सहमति प्रदान गरिएको छ ।’

अब निर्वाचन आयोगको अनुमतिसँगै पटक–पटक रोकिदै आएको भन्सार एजेन्टको परीक्षा पूर्व निर्धारित मिति वैशाख १७ गते हुने भएको हाे ।

भन्सार एजेन्टको परीक्षा भन्सार विभागले सञ्चालन गर्नुपर्ने भए पनि परीक्षामा अनियमितता हुनसक्ने र अनावश्यक विवादमा फस्नुपर्ने हुँदा विभागले परीक्षा सञ्चालनका लागि लोकसेवालाई अनुरोध गरेको भन्सार विभागका अधिकारी बताउँछन् ।


क्लिकमान्डु